संकटाविरुद्ध चर्च ब्वाइजको शानदार जित
काठमाडौं : एन्फा राष्ट्रिय लिग २०८२ अन्तर्गत बुधबार भएको २ खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले अङ्क बाँड्दा चर्च ब्वाइज युनाइटेडले संकटा क्लबविरुद्ध शानदार जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको २ खेलमध्ये पहिलो खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले १–१ बराबरी खेल्यो । पहिलो हाफ गोलरहित बराबरी हुँदा दोस्रो हाफमा दुवै टिमले १–१ गोल गर्दै अंक बाँडेका हुन् ।
खेलको ४७ औं मिनेटमा जावलाखेलको लागि विकास दर्लामी मगरले गोल गर्दै जावलाखेललाई अग्रतामा ल्याएका थिए । ५२ औं मिनेटमा फ्रेन्ड्स क्लबका प्रशान्त लक्समले बराबरी गोल फर्काए। त्यसपछि कुनैपनि टिमले गोल गर्न सकेनन् । आज भएको दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले संकटा क्लबलाई ५–२ ले पराजित गरेको हो ।
चर्च ब्वाइजको जितमा सुमित श्रेष्ठले दुई गोल गरे । रोहन कार्की मिलन राई ले एकएक गोल गर्दा ८० औँ मिनेटमा संकटा क्लबले आत्मघाती गोल मार्फत पाँचौं गोल बेहोरेको हो । संकटा क्लबका लागि विवेक राई र रिचार्ड ओनिमाले १–१गोल गरे । पहिलो हाफमा २–० को अग्रता बनाएको चर्च ब्वाइजले दोस्रो हाफमा ३ गोल गर्दै २ गोल बेहोर्यो । खेलको २८औं मिनेटमा रोहन कार्कीको गोलद्वारा अग्रता बनाएको चर्चले पहिलो हाफको अन्तिम मिनेटमा सुमित श्रेष्ठको गोलले २–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको ६० औं मिनेटमा चर्च ब्वाइजका लागि मिलन राईले तेस्रो गोल गरे । जवाफी गोल फर्काउँदा संकटा क्लबका विवेक राईले ६५ औं मिनेटमा गोल फर्काए । संकटा क्लबका लागि ७३ औं मिनेटमा रिचार्ड ओनिमाले दोस्रो गोल गरे । चर्च बोइजका लागि सुमित श्रेष्ठले ७९ औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमको लागि चौथो गोल गरे । चर्च ब्वाइजका लागि पाँचौं गोल भने आत्मघाती गोल मार्फत उपहार प्राप्त भयो । खेलको ८० औं मिनेटमा संकटा क्लबले आत्मघाती गोलमार्फत पाँचौं गोल बेहोरेको हो ।
प्रतिक्रिया दिनुहोस !