प्रधानमन्त्री मोदीले इरानका राष्ट्रपतिसँग कुरा गर्नु के संकेत हुन सक्छ ?
भारत : प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार इरानका राष्ट्रपति मसूद पेजेश्कियानसँग फोनमा कुरा गरे । यसको जानकारी उनले एक्समा दिएका छन् । उनले ‘क्षेत्रका महत्वपूर्ण ऊर्जा संरचनामा भइरहेका आक्रमण’ को निन्दा गर्दै यसले ‘विश्वव्यापी तेल आपूर्तिमा असर पारेको छ’ भने ।
त्यही दिन संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले ‘स्ट्रेट अफ होर्मुजमा जहाजहरूमा भएका इरानी आक्रमण’ सम्बन्धी २२ देशको संयुक्त वक्तव्य जारी गर्यो । यसमा व्यापारिक जहाजहरूमा भएका आक्रमणहरूको निन्दा गरिएको थियो । ती २२ देशमा भारतको नाम भने समावेश थिएन । अर्थात्, भारतले इरानको आलोचना गर्नबाट जोगिएको देखिन्छ ।
जबकि यसअघि भारतले खाडी देशका धेरै नेताहरूसँग कुरा गर्दै त्यहाँ भएका इरानी आक्रमणहरूको निन्दा गरेको थियो । मार्च २ मा प्रधानमन्त्री मोदीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग पनि कुरा गर्दै क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा जोड दिएका थिए ।
शनिबार भारतले इरानबारे अपनाएको रुख पहिलेभन्दा पूर्ण रूपमा फरक नभए पनि केही भिन्न भने अवश्य थियो । यसअघि पनि इरान–युद्धबारे प्रधानमन्त्री मोदीले क्षेत्रीय शान्ति, स्थिरता र संवादको पक्षमा जोड दिँदै आएका थिए । तर यो पहिलो पटक थियो जब उनले इरानी राष्ट्रपतिसँग कुरा गर्दा ऊर्जा केन्द्रहरूमा भएका आक्रमणको निन्दा गरे ।
शनिबार के भयो ?
प्रधानमन्त्री मोदीले इरानी राष्ट्रपतिसँग कुरा गरेको जानकारी एक्समा दिँदै लेखे, ‘डा. मसूद पेजेश्कियानसँग कुरा गरेर उहाँलाई ईद र नवरोजको बधाई दिएँ । हामी आशा गर्छौं कि यो पर्वको वातावरणले पश्चिम एसियामा शान्ति, स्थिरता र समृद्धि ल्याओस् ।’ ‘मैले क्षेत्रका आधारभूत संरचनामा भएका आक्रमणहरूको निन्दा पनि गरें, जसले क्षेत्रीय स्थिरता र विश्व तेल आपूर्तिमा असर पारेको छ । हामीले समुद्री यातायातको सुरक्षा र शिपिङ मार्गहरू खुला र सुरक्षित रहनु महत्वपूर्ण छ भन्नेमा जोड दियौं ।’
यसपछि केही घण्टामा उनले फारसी भाषामा पनि पोस्ट गरेर यो जानकारी साझा गरे । युद्ध सुरु भएयता यो मात्र दोस्रो पटक हो जब मोदीले पेजेश्कियानसँग कुरा गरे । भारतस्थित इरान दूतावासले पनि उक्त कुराकानीबारे पोस्ट गर्दै लेख्यो कि इरानले युद्ध सुरु नगरेको र आफूहरूलाई बिना उक्साहट आक्रमण गरिएको हो । पेजेश्कियानले भने अमेरिका र इजरायललाई आक्रमण रोक्न र भविष्यमा यस्तो नहोस् भन्ने ग्यारेन्टी दिन आग्रह गरे । उनले ब्रिक्समा भारतको भूमिकालाई उल्लेख गर्दै भारतले क्षेत्रीय र वैश्विक शान्तिमा स्वतन्त्र भूमिका खेल्नुपर्ने बताए ।
विशेषज्ञहरूका अनुसार, यस पटक मोदीले पहिलो पटक इरानसँग कुरा गर्दा ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणको निन्दा गरे र तेल आपूर्ति सुरक्षित राख्न जोड दिए । यसले देखाउँछ कि अमेरिकी–इजरायली कदमले भारतको आर्थिक र ऊर्जा हितमा असर पार्न सक्छ । हर्मुज स्ट्रेटबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुन्छ । भारतको ठूलो हिस्सा ऊर्जा यही बाटो हुँदै आउँछ । त्यसैले यदि यो मार्ग अवरुद्ध भयो भने भारतमा इन्धन संकट आउन सक्छ । विशेषज्ञहरूका अनुसार, भारतको यो नयाँ रुख मुख्यतः ऊर्जा सुरक्षा र आर्थिक हितसँग जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस !