कुरुप बन्दै गौर, पालिकाको छैन ध्यान
रौतहट : रौतहट सदरमुकाम गौर बजार दोहोरो पार्किङ र फोहोरका कारण दिनानु दिन कुरुप बन्दै जान थालेको । गौर नगरपालिकाका जनप्रतिनिधिहरुको वेवास्ताका कारण बजार क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ भने सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् ।करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएको बसपार्क प्रयोगविहीन जस्तै बन्दा बाटोमै दोहोरो पार्किङ हुन थालेको स्थानीय सन्तोष पौडेलले बताए ।

‘भारतीय टेम्पो र गौर–चन्द्रनिगाहपुरपुर चल्ने सवारी जथाभावी पार्किङ गर्ने होडबाजी जस्तै चलेको छ, स्थानीय सरकारले ब्यवस्थापनमा चासो देखाएको छैन’, पौडेलले भने, ‘करोडौंको लगानीमा बसपार्क निर्माण भएको भए पनि जिम्मेवार निकायको बेवास्ताले गौर कुरुप त बन्दै गएको छ साथै सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।’
मुख्य चोक घण्टाघर, बाटो वरिपरि नै बस, म्याजिक तथा ईभी, टेम्पो, टाङा गाडीहरुबाट सार्वजनिक यातायात सञ्चालन भइरहेको दृश्यले नगरको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । बसपार्क हुँदाहुँदै पनि सडकमै सवारीको ‘स्ट्यान्ड’ बनाइनु नगरपालिकाको नियमन क्षमतामाथि ठाडो प्रहार जस्तै देखिएको स्थानीय मोहन यादब बताउँछ्न् ।
‘मुख्य चोकमै सवारीसाधन रोकिने, यात्रु चढाउने–ओराल्ने काम खुलेआम भइरहँदा बजार क्षेत्र अस्तव्यस्त बनेको छ भने पैदलयात्रीहरू जोखिम मोलेर हिँड्न बाध्य छन्’, यादव भन्छन्, ‘नगरपालिका मौन बस्दा घण्टाघर क्षेत्र ‘अनौपचारिक बसपार्क’ मा परिणत भएको छ ।’
गौर नगरपालिका–७ गढवास्थित २ विगाह भन्दाबढी क्षेत्रफलमा बसपार्क निर्माण भएको छ ।
बसपार्क सञ्चालनमा आएपछि स्थानीयले खुशीयाली मनाएका थिए तर, अहिले स्थानीय सास्ती भोग्न बाध्य छ्न । नगर विकास कोषको ४ करोड ५५ लाख अनुदानबाट बसपार्क निर्माण भएको थियो । २०६७ असोज ५ गते ठेक्का सकार गरे पनि २०६८ भदौ १५ गते रसुवा–आश्रय जेभीले सम्झौता गरेर कार्य थालनी गरेको बहुबर्षीय आयोजना २०७२ भदौ १७ गते निर्माण सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस !