इरानले भन्यो–ट्रम्पले भने जस्तो कुनै वार्ता भइरहेको छैन
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मध्यपूर्वमा भइरहेको द्वन्द्व अन्त्य गर्ने विषयमा सकारात्मक वार्ता भएको बताएका छन् । उनले ‘पूर्ण समाधान’ को विषयमा राम्रो प्रगति भएको दाबी गरेका छन् ।
ट्रम्पका अनुसार उनले इरानका बिजुली संयन्त्र र ऊर्जा संरचनामाथि हुने सम्भावित सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न आदेश दिएका छन् । तर इरानको विदेश मन्त्रालयले ट्रम्पको यो दाबी अस्वीकार गरेको छ । उनीहरूले अमेरिका र इरानबीच कुनै पनि प्रकारको वार्ता नभएको स्पष्ट पारेका छन् ।
सीबीएस न्यूजका अनुसार इरानी विदेश मन्त्रालयले भन्यो, ‘अमेरिकी राष्ट्रपति ट्रम्पले भने जस्तो कुनै वार्ता भइरहेको छैन ।’ इरानले थप भन्यो कि कुनै पनि वार्ता तब मात्रै सम्भव हुनेछ जब युद्धसँग सम्बन्धित उसका लक्ष्यहरू पूरा हुन्छन् ।
यसअघि, बीबीसी फारसीका अनुसार इरानी समाचार एजेन्सी फार्सले एक अज्ञात स्रोतको हवाला दिँदै ट्रम्पसँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क नभएको जनाएको थियो । स्रोतले भन्यो, ‘जब ट्रम्पले सुने कि पश्चिम एशियाका सबै पावर स्टेशनहरू हाम्रो निशानामा छन्, तब उनी पछि हटे ।’
परमाणु मुद्दामा सम्भावित सहमति
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानसँग ‘उच्चस्तरका व्यक्ति’ सँग संवाद भइरहेको संकेत दिएका छन् । उनले भने, ‘उनीहरू (इरान) सम्झौता गर्न चाहन्छन्, हामी पनि चाहन्छौं । सम्भवतः आज फोनमा कुरा हुनेछ ।’ ट्रम्पले चेतावनी पनि दिए, ‘यदि कुरा मिलेन भने, हामी लगातार बमबारी गर्नेछौं ।’ उनका अनुसार अधिकांश मुद्दामा सहमति नजिक पुगेको छ, र इरानले परमाणु हतियार कार्यक्रम छोड्न सक्ने संकेत दिएका छन् ।
तेल र ग्यासको मूल्य घट्यो
ट्रम्पको बयानपछि विश्व बजारमा तेल र ग्यासको मूल्य घटेको छ । ब्रेन्ट क्रुड करिब १३ प्रतिशत घटेर प्रतिब्यारेल ९६ डलरमा आएको छ । एफटीएसई सूचकांकमा सुधार आएको छ । ग्यासको मूल्य पनि उल्लेखनीय रूपमा घटेको छ । ट्रम्पले भने, ‘यदि इरानसँग सम्झौता भयो भने तेलको मूल्य अझै घट्नेछ ।’
अझै अनुत्तरित प्रश्नहरू
यद्यपि ट्रम्पको बयान शान्तिपूर्ण देखिए पनि धेरै प्रश्नहरू खुला छन् : वार्ता वास्तवमै भएको हो कि होइन ? मुख्य मुद्दा के हो–परमाणु कार्यक्रम, मिसाइल, वा युद्धविराम ? होर्मुज जलडमरूको अवस्था के हुनेछ ? विशेषज्ञहरूका अनुसार, होर्मुज जलडमरूमा इरानको नियन्त्रण युद्धमा उसको सबैभन्दा ठूलो शक्ति हो ।
इरानका जनताको प्रतिक्रिया
इन्टरनेट प्रतिबन्धका बाबजुद केही इरानी नागरिकहरूले प्रतिक्रिया दिएका छन् । एक युवक भन्छन्, ‘यो युद्ध इरानी जनताका लागि धेरै महँगो पर्नेछ ।’ यस्तै अर्की एक महिला भन्छिन्, ‘ट्रम्पले हामीलाई पागल बनाइरहेका छन् ।’ अर्का युवक भन्छन्, ‘हामी हाँसिरहेका छौं-हामी कस्तो जीवन बाँचिरहेका छौं ?’ त्यस्तै एक युवती भन्छिन्, ‘ट्रम्प धेरै अनिश्चित छन्, के हुन्छ थाहा छैन ।’
होर्मुज जलडमरूसम्बन्धी तनाव
यसअघि ट्रम्पले इरानलाई ४८ घण्टामा होर्मुज जलडमरू खोल्न चेतावनी दिएका थिए । नत्र ऊर्जा संरचनामाथि हमला गर्ने धम्की दिएका थिए । इरानले प्रतिक्रिया दिँदै भनेको थियो, ‘यदि उसका ऊर्जा केन्द्रहरूमा हमला भयो भने, उसले क्षेत्रका अमेरिकी र सहयोगी देशका ऊर्जा संरचनामा हमला गर्नेछ ।’ इरानले भनेको छ कि होर्मुज जलडमरू पूर्ण रूपमा बन्द गरिएको छैन, तर केही जहाजहरूको आवागमनमा प्रतिबन्ध लगाइएको छ-विशेष गरी आक्रमणकारी पक्षसँग सम्बन्धित जहाजहरूमा ।
प्रतिक्रिया दिनुहोस !