प्रधानमन्त्री कपमा बागमतीको पहिलो जित
काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०२६ मा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ । गण्डकी प्रदेशलाई १७० रनको फराकिलो अन्तरले पराजित गर्दै बागमतीले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
तल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९४ रन बनाएको हो । बागमतीले दिएको २९५ रनको लक्ष्य पछ्याएको गण्डकी ३१.५ ओभरमा १२४ रन बनाउँदै अलआउट भयो । गण्डकीको लागि अर्जुन कुमालले ७४ रनको सम्हालिएको पारी खेलेका थिए ।
उनले ९० बलमा ११ चौका प्रहार गरे । अर्जुनले पाँचौं विकेटको लागि सुवास भण्डारीसँग ७१ रनको साझेदारी बनाउँदै गण्डकीको पारी सम्हालेका थिए । शीर्षक्रमका ब्याटर गौरव विक र वंश क्षेत्री डक आउट हुँदा एक समय गण्डकी ५ विकेटको क्षतीमा ३६ रन बनाएको थियो ।
सुवास भण्डारीले ४८ बलमा १ चौक र १ छक्का प्रहार गर्दै २९ रन बनाएका थिए । उनी रन आउटको रुपमा पेभेलियन फर्किए । उनी र अर्जुन बाहेक कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीका पाँच ब्याटर डकआउट भएका थिए । गण्डकीलाई सस्तैमा समेट्न बागमतीका बायाँहाते पेसर रिजन ढकालले सर्वाधिक ३ विकेट लिए ।
कप्तान सन्दीप लामिछाने र उपकप्तान इशान पाण्डेले समान २–२ विकेट लिए । दयानन्द मण्डल र सुवास खत्रीले १–१ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको बागमतीको लागि इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए। उनले ६१ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
ओपनर ब्याटर अशुतोष घिरौयाले ५९रनको अर्धशतकीय पारी खेले । उनले पहिलो विकेटको लागि शुभ कंसाकरसँग ६४ रनको साझेदारी गरेका थिए । अर्का ओपनर शुभले ४४ रन बनाए ।
वानडाउन आएका शिवम तिवारीले १८ रन बनाए । उत्तम मगरले ३० र विवेक मगरले २७ रन बनाए। कप्तान सन्दीप लामीछाने २६ रनमा अविजित रहे । गण्डकीको लागि कमल परियारले २ विकेट लिए । कप्तान विपिन खत्री, अंकित न्यौपाने, सिविन श्रेष्ठ र सुवास भण्डारीले १–१ विकेट लिए । बागमती प्रदेशको यो खेल दोस्रो खेल हो । बागमतीले पहिलो खेल एपीएफसँग ७१ रनको हार बेहोरेको थियो।
प्रतिक्रिया दिनुहोस !