राखेपले एन्फालाई कारबाही नगर्नु पर्नाको माग्यो कारण
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही नगर्नु पर्नाको कारण खुलाई लिखित पत्र पठाउन निर्देशन दिएको छ । राखेपले मंगलबार एन्फालाई पत्राचार गर्दै स्पष्टिकरण माग गरेको हो ।
पछिल्लो समय एन्फाको संघीय चुनावलाई लिएर उठेको विवादको विषयमा एन्फा र राखेपबीच सोमबार भएको बैठक निष्कर्षविहीन बनेको थियो । एन्फा र राखेपको बैठक निष्कर्षविहीन बनेपछि राखेपले पुनः आन्तरिक बैठकमार्फत एन्फालाई कारबाही नगर्नु पर्नाको कारणसहित स्पष्टिकरण मागेको हो ।
एन्फाले फिफा र एएफसीबाट निर्वाचनका लागि पत्र प्राप्त भएको भन्दै राखेपलाई हस्तक्षेप नगर्न भनिरहँदा राखेप भने नेपालको खेलकुद नियमावली र ऐनलाई आधार मान्दै एन्फाले प्रक्रिया पूरा नगरेको बताउँदै आएको छ ।
खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ड) अनुसार मन्त्रालय, परिषद तथा समितिले समय समयमा दिएको निर्देशन एन्फाले अटेर गरेको भन्दै कारबाही गर्न खोजेको हो । तर एन्फा भने बारम्बार निर्वाचन सार्दा तेस्रो पक्षको हस्तक्षेपको आरोपमा एन्फा फिफा र एएफसीको निलम्बनमा पर्ने भन्दै निर्वाचन गराउने तयारीमा जुटेको छ ।
प्रतिक्रिया दिनुहोस !