ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक जना कारोबारी पक्राउ
सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट प्रतिबन्धित लागू औषधसहित एक जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार रति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २९ वर्षीय अनिल लिम्बूलाई ठूलो परिमाणमा लागू औषधसहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले बताए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको टोलीले लिम्बूको साथबाट ट्रामाडोल ४ हजार १ सय ४६ क्याप्सुल, स्पास्पेन र डिकोलिक गरी ४ हजार २ सय २८ ट्याबलेट बरामद गरेको डीएसपी राईले बताए ।
पक्राउ परेका लिम्बूलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । इलाका प्रहरी कार्यालय धरान आसपासका क्षेत्रमा लागू औषधको अवैध कारोबार बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन र शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई सूचना दिन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस !