कोशीका तीन जिल्लाबाट पंक्षीजन्य वस्तु ढुवानीमा रोक

कोशीका तीन जिल्लाबाट पंक्षीजन्य वस्तु ढुवानीमा रोक
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशमा बर्डफ्लू संक्रमण पुष्टि भएका तीन जिल्लाबाट पंक्षीजन्य वस्तु अन्यत्रका जिल्लामा ढुवानीमा पूर्ण रोक लगाइएको छ । मोरङ, सुनसरी र झापामा बर्डफ्लू फैलिएको पाइएपछि कुखुराजन्य उत्पादनको ओसारपसार र बिक्री वितरणमा कडाइ गरिएको हो ।

संक्रमण थप फैलिन नदिन सम्बन्धित जिल्लाबाट कुखुरा, अण्डा, मासु र सुली (पोल्ट्रीजन्य फोहोर) ढुवानीमा तत्कालका लागि पूर्ण प्रतिबन्ध लगाइएको स्थानीय प्रशासनहरुले जनाएका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार प्रयोगशाला परीक्षणबाट विभिन्न पोल्ट्री फार्ममा बर्डफ्लू पुष्टि भएपछि संक्रमण नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर आपतकालीन निर्णय गरिएको छ । 

उनका अनुसार प्रभावित जिल्लाबाट सीमा जोडिएका आसपासका क्षेत्रसम्म संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै थप कडाइ गरिएको छ । निर्णयअनुसार संक्रमण देखिएका मोरङ, झापा र सुनसरीबाट सीमा जोडिएका धनकुटा, पाँचथर, इलाम, उदयपुर र सप्तरीतर्फ कुखुरा, अण्डा, मासुजस्ता पंक्षीजन्य वस्तुको ओसारपसार र बिक्री वितरण पूर्ण रूपमा रोकिएको हो । प्रतिबन्ध कम्तीमा दुई सातासम्म लागू हुनेछ ।

सहायक प्रजिअ कोइरालाले गृह मन्त्रालयको विपद् जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाबाट प्राप्त निर्देशन र पशुसेवा विभागमा बसेको सरोकारवालाको बैठकको निर्णयअनुसार तत्काल नियन्त्रणात्मक कदम चालिएको जानकारी दिए । उनका अनुसार संक्रमणको चक्र तोड्नु नै बर्डफ्लू नियन्त्रणको मुख्य उपाय भएकाले आवतजावत र व्यापारिक ढुवानी रोक्नुपर्ने अवस्था आएको हो ।

प्रशासनले संक्रमण देखिएको फार्म वरपर २० मिटरको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी त्यहाँको आवतजावत पूर्ण रूपमा नियन्त्रणमा राखेको छ । जोखिमको दायरा बढ्दै गएको भन्दै स्थानीय प्रशासन र पशुसेवा निकायहरू सक्रिय रूपमा अनुगमन तथा नियन्त्रणमा खटिएका छन् । सुरुमा बर्डफ्लु संक्रमण मोरङमा देखिएको थियो भनेपछि झापा र सुनसरीका विभिन्न पोल्ट्री फार्महरूमा पनि संक्रमण पुष्टि भएको हो । हालसम्म तीन जिल्लाका १३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु देखिएको पशु प्राविधिकहरुले बताए । 

संक्रमण भारततर्फ पनि फैलिँदै गएको संकेत देखिएपछि सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ  । सीमावर्ती क्षेत्र हुँदै रोग फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले निगरानी बढाएको हो । पशुसेवा विभागका अनुसार बर्डफ्लू नियन्त्रणका लागि संक्रमणको श्रृंखला रोक्नु अत्यावश्यक हुन्छ । त्यसका लागि संक्रमित क्षेत्रबाट उत्पादन हुने सबै प्रकारका पंक्षीजन्य वस्तुको ढुवानी रोक्नुपर्ने बाध्यता रहेको विभागको भनाइ छ । 

यदि यो चक्र तोड्न नसकिएमा संक्रमण अन्य जिल्लामा छिटो फैलिन सक्ने जोखिम रहन्छ । प्रशासनले किसान, व्यवसायी तथा उपभोक्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कुनै पनि फार्ममा कुखुरा अस्वाभाविक रूपमा मर्न थाले, रोगको लक्षण देखिए वा शंका लागे तत्काल सम्बन्धित स्थानीय निकाय वा पशु प्राविधिकलाई जानकारी दिन आग्रह गरिएको छ ।

कुखुरापालन व्यवसायमा संलग्न किसानहरूलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्न र सफाइ तथा कीटाणु नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । स्थानीय तहहरूलाई जनचेतना फैलाउने, नियमित अनुगमन गर्ने र संक्रमण नियन्त्रणमा आवश्यक समन्वय गर्न भनिएको छ । 

पूर्वी नेपालमा फैलिँदै गएको बर्डफ्लूको असर कुखुरापालन व्यवसायमा प्रत्यक्ष देखिन थालेको छ । बजारमा कुखुरा र अण्डाको आपूर्तिमा अस्थिरता आउने सम्भावना देखिएको छ भने व्यवसायीहरूले आर्थिक क्षति बेहोरिरहेका छन् । विज्ञहरुले समयमै नियन्त्रण गर्न नसकिएमा यो संक्रमणले कृषि तथा पशुपंक्षी क्षेत्रसँगै जनस्वास्थ्यमा समेत गम्भीर असर पार्ने चेतावनी दिएका छन् ।

नियन्त्रणका लागि सबै सरोकारवालालाई जिम्मेवार भएर सहयोग गर्न स्थानीय प्रशासनहरुले आग्रह गरेका छन् । अवस्थालाई नियन्त्रणमा राख्न सरकार, स्थानीय प्रशासन, पशुसेवा विभाग र निजी क्षेत्रबीच समन्वय बढाइएको छ । संक्रमण फैलिन नदिन दुई हप्तासम्म लागू गरिएको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गरिने मोरङका सहायक प्रजिअ कोइरालाको भनाइ छ । 

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.