नर्सबाट स्वास्थ्यमन्त्री बनिन्, निशा मेहता
सुनसरी : नेपालको स्वास्थ्य क्षेत्रको नेतृत्व तहमा पहिलोपटक नर्सिङ पेसाबाट एक महिला स्वास्थ्यमन्त्री बन्न सफल भएकी छन्। सुनसरीको इनरुवा नगरपालिकाकी ३८ वर्षीया निशा मेहता नर्सिङ पेसाबाट राजनीति हुँदै देशको स्वास्थ्यमन्त्री भएकी छन्।
मेहताले बिएस्सी नर्सिङ अध्ययन पूरा गरेपछि आफ्नो पेसागत जीवनको सुरुवात बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट गरेकी थिइन्। प्रतिष्ठानमा दुई वर्ष नर्सका रूपमा सेवा दिएपछि उनले विराटनगरस्थित नोबेल मेडिकल कलेज र विराट टिचिङ अस्पतालमा समेत नर्सिङ पेसामा काम गर्दै आफ्नो अनुभव विस्तार गरिन्। उनले भारतको दिल्लीबाट एमएस्सी नर्सिङको अध्ययन पूरा गरेकी छिन्। अस्पतालको दैनिक कामकाज, बिरामीको सेवा, स्वास्थ्यकर्मीहरूको समस्या र व्यवस्थापनको चुनौतीलाई नजिकबाट बुझेकी उनी अन्ततः स्वास्थ्य क्षेत्रमै सुधार ल्याउने उद्देश्यका साथ राजनीतिमा प्रवेश गरेकी हुन्।
निशाको राजनीतिक यात्रा सहज भने थिएन। नर्सिङ जस्तो स्थिर पेसा छाडेर राजनीति रोज्नु आफैंमा चुनौतीपूर्ण निर्णय थियो। तर, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, नर्सहरूको अवस्था, सेवाको गुणस्तर र नीतिगत कमजोरीलाई सुधार गर्ने दृढ संकल्पले उनलाई राजनीतिमा ल्यायो। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई बालेन शाहको नेतृत्वमा बनेको सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेकी छिन्।
स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका व्यक्तिले नेतृत्व सम्हाल्दा नीतिगत सुधार हुने अपेक्षा गरिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निशासँगै काम गरेकी मेट्रोन कला थापाले पनि यो नियुक्तिलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार नर्स पृष्ठभूमिबाट आएको व्यक्ति स्वास्थ्यमन्त्री बन्नु भनेको सम्पूर्ण नर्सिङ समुदायका लागि गर्वको विषय हो। ‘अब नर्सहरूको हकहित, सेवासुविधा र स्वास्थ्य प्रणाली सुधारमा सकारात्मक परिवर्तन आउनेमा हामी विश्वस्त छौं’, उनले भनिन्।
निशाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक रूपमा सक्रिय रहेको छ। उनी कांग्रेस परिवारमा हुर्किएकी हुन्। उनका दाजु राजन मेहता २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट इनरुवा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए भने हाल सुनसरी जिल्ला समन्वय समितिको सभापति रहेका छन्। बहिनी स्वास्थ्यमन्त्री बनेको खबरले आफू अत्यन्तै खुसी भएको उनले बताएका छन्। उनले निशाले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
स्वास्थ्यमन्त्री बनेपछि निशा मेहताले आफ्नो पहिलो प्राथमिकता स्वास्थ्यसेवाको गुणस्तर सुधार, नर्स तथा स्वास्थ्यकर्मीहरूको सेवा, सुविधा वृद्धि, ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार र स्वास्थ्य प्रणालीलाई पारदर्शी तथा प्रभावकारी बनाउने रहेको बताएकी छन्। उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत र संरचनात्मक परिवर्तन आवश्यक रहेको भन्दै त्यसतर्फ आफू केन्द्रित हुने स्पष्ट पारेकी छन्। निसाको नियुक्तिलाई सुनसरीवासीले पनि गर्वका रूपमा लिएका छन्। आफ्नै जिल्लाकी एक महिला राष्ट्रियस्तरमा महŒवपूर्ण जिम्मेवारीमा पुगेपछि स्थानीयस्तरमा पनि खुसीको माहोल देखिएको छ।
विशेष गरी युवाहरू र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूका लागि निशाको सफलता प्रेरणाको स्रोत बनेको रास्वपा कोशी प्रदेशकी अध्यक्ष गोमा तामाङले बताइन्। निशा मेहताको यात्रा व्यक्तिगत सफलता मात्र नभएर सम्पूर्ण नर्सिङ पेसाको सम्मान र पहिचानसँग जोडिएको विषय भएको उनको भनाइ छ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा काम गरेको अनुभवलाई नीतिगत तहमा उपयोग गर्न सकिने अवसर निसाले पाएकी छिन्। यसले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारको सम्भावना बढाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डेपुटी निर्देशक इन्द्र लिम्बुले बताए। नर्सबाट स्वास्थ्यमन्त्री बन्ने यो यात्रा नेपाली स्वास्थ्य क्षेत्रको इतिहासमा एउटा महŒवपूर्ण अवसरका रूपमा रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !