निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, ४९० जना लाभान्वित
धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको आयोजनामा खरी स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भएको छ । शिविर रोटरी क्लब अफ नारायणी मिडटाउन, चितवन मेडिकल कलेज तथा रोटरी क्लब अफ धादिङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो ।
शिविरमा ४९० जनाले विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा लिँदै स्वास्थ्य परीक्षण गराएका थिए । सेवाअन्तर्गत जेनरल सर्जरी, जेनरल फिजिसियन, स्त्रीरोग, बालरोग, दन्तरोग, हाडजोर्नी, नाक, कान, घाँटी, छाला तथा मानसिक रोगसम्बन्धी परामर्श प्रदान गरिएको थियो ।
स्वास्थ्य परीक्षणपछि आवश्यक परेका बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । गाउँपालिकाका अध्यक्ष यामनाथ दनैका अनुसार शिविरले स्थानीयलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ । गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !