जीतपुर-सिमरा क्रिकेट कपलाई जनकपुर बोल्ट्सको साथ

जीतपुर-सिमरा क्रिकेट कपलाई जनकपुर बोल्ट्सको साथ

सिमरा : बाराको सिमरामा प्रत्येक वर्ष आयोजना हुने जीतपुर–सिमरा क्रिकेट कप प्रतियोगिताले एनपीएल फ्रेन्चाईज क्लब जनकपुर बोल्ट्सको साथ पाएको छ । तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको जीतपुरसिमरा स्पोट्र्स क्लबले यसपटक जनकपुर बोल्ट्सको साथ पाएको हो।

चैत २१ गतेदेखि सुरु हुने तेस्रो संस्करणमा जनकपुर बोल्ट्स पनि जोडिएको छ । प्रतियोगितालाई सफल बनाउन जनकपुर बोल्ट्सले आयोजक क्लब र खेलाडीलाई जर्सी उपलब्ध गराएको छ । प्रतियोगिताको विषयमा जानकारी दिन मंगलबार सिमरामा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएर जनकपुर बोल्ट्सका संस्थापक उत्सव सिग्देलका पिता महेश सिग्देलले क्लबलाई जर्सी हस्तान्तरण गरेका छन् । अमेरिका बसोबास गर्ने उत्सव हाल इयू  टी–२० लिगका लागि बेल्जियममा छन् । जनकपुर बोल्ट्सको लगानीकर्ता ड्रिम स्पोट्र्सले बेल्जियममा इयू टी–२० लिग खेल्ने जेबि ब्रुजको स्वामित्व समेत लिएको छ  ।

उत्सवको अनुपस्थितीमा सिमरा आएका पिता महेशले नेपालको क्रिकेटको विकासका लागि आफूहरु लागिपरहेको बताए । क्रिकेटको विकासले मात्रै देशमा सद्भाव कायम गर्ने र देशको विकासमा कोशेढुंगा सावित हुने सिग्देलको भनाई थियो । सिग्देलले जीतपुर सिमरा क्रिकेट कपलाई आगामी दिनमा अझै भव्य र नतिजामूलक बनाउन आफूहरुले सहयोग गर्ने बताए । उनले क्रिकेटकै विकासका लागि स्थानीय सरकारले जग्गा उपलब्ध गराए आफूहरु रंगशाला समेत निर्माण गरिदिने उद्घोष गरे ।

‘यो प्रतियोगितालाई थप उचाई पुर्याउन हाम्रो सहयोग रहनेछ’ सिग्देलले भने, ‘यस प्रतियोगिताको निरन्तरतासंगै क्रिकेटको विकासका लागि हामी रंगशाला समेत निर्माण गरिदिनेछौं । तर त्यसका लागि स्थानीय सरकार र सम्बन्धित निकायले जग्गा उपलब्ध गराई दिनु पर्छ ।’

पत्रकार सम्मेलनमा उपस्थित जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले जनकपुर बोल्ट्सका संस्थापकको तर्फबाट भएको सहयोगको प्रशंसा गरे । उनले क्रिकेटको विकासका लागि र मैदानका सन्दर्भमा उपमहानगरले आवश्यक छलफल गरी निर्णय लिने बताए ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी जीतपुर सिमराका नगर सभापति सुरेशराज केसी, नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्मा, नेकपा एमालेका नगर अध्यक्ष त्रिलोक विक्रम शाह, नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष प्रेम बरालले प्रतियोगिताको सफलताका लागि आफूहरुबाट हुने सहयोगका प्रतिवद्धता व्यक्त गरे । जीतपुरसिमरा स्पोर्टस् क्लबका अध्यक्ष सोमलाल बम्जनले प्रतियोगितालाई सफल बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको औंल्याए ।

प्रतियोगितामा आयोजकसहित बारा, पर्सा, सर्लाही, मकवानपुर, चितवन जिल्लाको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ । अघिल्लो संस्करणमा भन्दा पुरस्कार राशी यसपटक बढाइएको हो । अघिल्लो संस्करणमा विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गरेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र ब्याटरले जनही पाँच हजार प्राप्त गर्नेछन् । प्रतियोगितालाई जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य सहयोगीको रुपमा सहयोग गर्नेछ ।


––
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.