गम्भीर संकटमा स्लाइन उद्योग: लागत बढ्दो, मूल्य स्थिर

गम्भीर संकटमा स्लाइन उद्योग: लागत बढ्दो, मूल्य स्थिर

विराटनगर : विश्वव्यापी तनाव र मध्यपूर्वमा बढ्दो द्वन्द्वको प्रभाव नेपालका औषधि उद्योगसम्म आइपुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा बढेसँगै नेपालमा सेलाइन (स्लाइन) उत्पादन गर्ने उद्योगहरू गम्भीर संकटमा परेका छन्। 

त्यसमा पनि सरकारले लामो समयदेखि मूल्य समायोजन नगर्दा उद्योगीहरू लागतभन्दा कम मूल्यमा उत्पादन बेच्न बाध्य भएका छन्। मोरङको बूढीगंगामा सञ्चालनमा रहेको एलेक्सा लाइफ साइन्सेसका निर्देशक दिनेश ठाकुरका अनुसार हाल नेपालमा तीनवटा उद्योगले सेलाइन उत्पादन गरिरहेका छन्। देशभित्रै उत्पादन भइरहे पनि अन्तर्राष्ट्रिय बजारमा आएको अस्थिरताले कच्चा पदार्थ आपूर्ति र उत्पादन प्रक्रियामा ठूलो असर पारेको उनले बताए। 

केही निजी कम्पनीहरूले विदेशबाट सेलाइन आयात गरिरहेका भए पनि अहिलेको परिस्थितिमा आयात सहज छैन। नेपालमा औषधिको मूल्य निर्धारण गर्ने निकाय औषधि व्यवस्था विभागले २०६४ सालमा ९६ प्रकारका औषधिको मूल्य तोकेको थियो। त्यही सूचीअनुसार ५०० मिलिलिटर नर्मल सेलाइनको मूल्य ४५ रुपैयाँ निर्धारण गरिएको थियो। तर, विगत १८ वर्षमा बजारमा अन्य सबै वस्तुको मूल्य बढे पनि सेलाइनको मूल्य भने अझै उही कायम छ।

लागत बढे पनि १८ वर्षदेखिको स्थित मूल्यका कारण सेलाइन उद्योगहरु संकटमा परेका हुन्। उद्योगीहरूका अनुसार स्थिर मूल्य अहिले सबैभन्दा ठूलो समस्या बनेको छ। उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको मूल्य निरन्तर बढिरहेको भए पनि कानुनी व्यवस्थाका कारण उद्योगहरूले उत्पादनको मूल्य आफूखुसी बढाउन सक्दैनन्। सरकारले तोकेको मूल्यभन्दा बढीमा औषधि बिक्री गर्न नपाइने भएकाले घाटामा उत्पादन गर्न बाध्य भएको ठाकुरले बताए। 

उनका अनुसार सेलाइन उत्पादनमा प्रयोग हुने करिब ६० प्रतिशत सामग्री प्लास्टिकजन्य हुन्छ। बोतल, ढकनी, आवरणदेखि कार्टुन बाँध्ने डोरीसम्म सबै प्लास्टिकबाटै बन्ने भएकाले यसको मूल्यवृद्धिको असर सिधै उत्पादन लागतमा पार्ने ठाकुरको भनाइ छ। पछिल्लो समय दक्षिण कोरियाबाट आउने चिकित्सकीय स्तरको प्लास्टिक दानाको आपूर्ति बन्दजस्तै भएपछि समस्या थप जटिल बनेको उनले बताए। 

उनका अनुसार कोरियाबाट आयात रोकिन थालेपछि उद्योगीहरूले भारतबाट कच्चा पदार्थ ल्याउने प्रयास गरेका छन्। तर, नेपालको व्यापार नीतिका कारण तेस्रो मुलुकमा बनेका सामग्री भारतमार्फत ल्याउन पाइँदैन। भारतमै उत्पादन हुने कच्चा पदार्थको मूल्य पनि अत्यधिक बढेको छ। केही समयअघिसम्म प्रति किलो २१४ रुपैयाँ पर्ने प्लास्टिक दाना भारतमा अहिले ४०० रुपैयाँसम्म पुगेको उद्योगीहरूले बताएका छन्।

यसले गर्दा उत्पादन लागतमा उल्लेख्य वृद्धि भएको छ। ‘पहिले एक बोतल नर्मल सेलाइन उत्पादन गर्न करिब ३५ रुपैयाँ खर्च लाग्थ्यो। त्यो अवस्थामा ४५ रुपैयाँमा बिक्री गर्दा उद्योग सञ्चालन सम्भव थियो। तर, अहिले उत्पादन लागत नै ५० रुपैयाँभन्दा माथि पुगेको छ। यस्तो अवस्थामा ४५ रुपैयाँमै बिक्री गर्नुपर्दा उद्योगहरू प्रत्यक्ष घाटामा गइरहेका छन्,’ ठाकुरले भने। 

अन्य व्यवसायमा लागत बढेपछि मूल्य समायोजन गर्न पाइने भए पनि औषधि क्षेत्रमा कडा नियमनका कारण यस्तो सुविधा छैन। यही कारणले सेलाइन उत्पादन गर्ने उद्योगहरू सबैभन्दा बढी प्रभावित बनेको उनले बताए। उनका अनुसार अहिलेको अवस्था लामो समयसम्म जारी रहे नेपालमा सेलाइन उत्पादन पूर्ण रूपमा बन्द हुनसक्ने खतरा छ।

हाल नेपालमा एलेक्सा, एभरेष्ट र लोमस गरी तीनवटा उद्योगले सेलाइन उत्पादन गरिरहेका छन्। ‘यी उद्योगहरू बन्द भए देश पूर्ण रूपमा आयातमा निर्भर हुनुपर्ने अवस्था आउनेछ। जसले स्वास्थ्य क्षेत्रमा थप जटिलता ल्याउन सक्छ,’ उद्योगीहरु भन्छन्। 

औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले अन्तर्राष्ट्रिय परिस्थितिका कारण औषधि र कच्चा पदार्थ आयातमा समस्या देखिएको स्वीकार गरेका छन्। उनका अनुसार यस विषयमा अध्ययन भइरहेको छ। औषधिको मूल्य समायोजनका बारेमा पनि छलफल जारी रहेको बज्राचार्यले बताए। 

तर, उद्योगीहरू भने तत्काल निर्णय नलिए स्थिति झनै गम्भीर बन्ने चेतावनी दिइरहेका छन्। उनीहरूका अनुसार १८ वर्षदेखि स्थिर रहेको मूल्य नीतिमा सुधार नगरे स्वदेशी सेलाइन उत्पादन पूर्ण रूपमा ठप्प हुने जोखिम बढ्दै गएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.