बसाइँसराइ गरी लुकेका अभियुक्त १३ वर्षपछि पक्राउ
विराटनगर : ठगी मुद्दामा दोषी ठहर गर्दै अदालतले तोकेको कैद र जरिबाना भुक्तान नगरिकन फरार रहेका एक जना अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्।
भोजपुर जिल्ला अदालतले दोषी ठहर गरिसकेपछि बसाइँ सरेर मोरङ झरेका ६२ वर्षीय केशवप्रसाद सुवेदी अन्ततः प्रहरीको फन्दामा परेका हुन्। लामो समयदेखि फरार सूचीमा रहेका सुवेदीलाई मोरङको कानेपोखरी गाउँपालिका–५ कालीकोशीबाट बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुर र मोरङको प्रहरी चौकी रमाइलोबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। भोजपुर प्रहरीका सूचना अधिकारी, इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार सुवेदी ठगी मुद्दामा अदालतबाट सजाय पाएका व्यक्ति हुन्। तर, फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए।
जिल्ला अदालत भोजपुरले २०६९ साल जेठ १६ गते सुवेदीलाई ठगी मुद्दामा दोषी ठहर गर्दै १ वर्ष ३ महिना कैद र १० लाख १७ हजार रुपैयाँ जरिबाना तोकेको थियो। अदालतको फैसला आउँदा उनी भोजपुरको रामप्रसादराई गाउँपालिका–१ का स्थायी बासिन्दा थिए। तर, सजाय तोकिएको केही समयमै उनी परिवारसहित मोरङ झरेर बसोबास गर्न थालेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार सुवेदी लामो समयसम्म पहिचान लुकाएर कानेपोखरी क्षेत्रमा बस्दै आएका थिए। इलाका प्रहरी कार्यालय पथरीका प्रमुख, डीएसपी तुलसीराम अर्यालले फरार अभियुक्तको खोजीका क्रममा उनी मोरङमा लुकेर बसेको सूचना प्राप्त भएपछि विशेष योजना बनाएर पक्राउ गरिएको जानकारी दिए। उनले बसाइँसराइ गरेर कानुनी सजायबाट बच्न खोज्ने प्रयास सफल नहुने यो घटनाले देखाएको बताए।
पक्राउ परेका सुवेदीलाई शुक्रबार जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ। अदालतले उनलाई सजाय भुक्तानका लागि जिल्ला कारागार मोरङ चलान गरेको प्रहरीले जनाएको छ। कोनेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरण गुरुङले परिवारसहित सुवेदी भोजपुरबाट बसाइँ सरेर आएको बताए। सुवेदी परवार २०७२–०७३ सालतिर बसाइँ सरेर आएको देखिने गुरुङको भनाइ छ।
प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार अभियुक्तहरूको खोजी तीव्र बनाएको बताएको छ। बसाइँसराइ, नाम परिवर्तन वा अन्य उपाय अपनाएर लुके पनि अन्ततः कानुनी कारबाहीबाट उम्किन नसकिने सन्देश यो घटनाले दिएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !