मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
विराटनगर : रंगेली–कानेपोखरी सडक खण्डअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–५ मा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको शनिबार साँझ मृत्यु भएको छ ।
प्रहरीका अनुसार रंगेलीबाट रमाइलोतर्फ आउँदै गरेको मे ६ प ५९४ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई दिउँसो ४ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियाे । दुर्घटनामा परेर साइकल यात्री कानेपोखरी–५ का अन्दाजी ६० वर्षीय नरेश काफ्लेको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।
उनका अनुसार गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनसाथ साँझ ६ः२० बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेकाे इन्स्पेक्टर न्यौपानेले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक कानेपोखरी–५ का अन्दाजी ३० वर्षीय अभिषेक कार्की पनि घाइते भएका छन् । प्रहरीका अनुसार उनकाे अवस्था सामान्य छ । प्रहरीले मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर न्यौपानेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !