धरपकडको विरोधमा लेखापढी व्यवसायी आन्दोलित, मालपोत र नापी कार्यालयको सेवा ठप्प

धरपकडको विरोधमा लेखापढी व्यवसायी आन्दोलित, मालपोत र नापी कार्यालयको सेवा ठप्प

विराटनगर : लेखापढी व्यवसायीहरू अचानक आन्दोलनमा उत्रिएपछि विराटनगरको मालपोत र नापी कार्यालयको सेवा ठप्प भएको छ । अत्यावश्यक सेवा पनि प्रभावित भएको छ । 

सरकारले बिचौलियामुक्त अभियानलाई तीव्रता दिएसँगै व्यवसायीमाथि गरिएको धरपकडको विरोधमा सेवा नै बन्द गरिँदा यसको सिधा असर सर्वसाधारण सेवाग्राहीमा परेको छ । दैनिक कामकाजका लागि कार्यालय पुगेका नागरिकहरू घण्टौं कुर्न बाध्य भएका छन् भने धेरैले अधुरै काम छाडेर फर्किनु परेको छ ।

पछिल्ला दिनमा सरकारले सरकारी कार्यालयहरूमा अनावश्यक प्रभाव जमाउने बिचौलियालाई नियन्त्रण गर्ने उद्देश्यले निगरानी र कारबाही बढाएको छ । यही अभियान अन्तर्गत लेखापढी व्यवसायीहरूलाई पक्राउ गर्ने, हिरासतमा राख्ने, धरौटीमा छाड्ने र जरिवाना तिराउने क्रम बढेपछि उनीहरू आक्रोशित बनेका हुन् । व्यवसायीहरूले आफूहरूलाई बिना कारण ‘बिचौलिया’ को रूपमा चित्रित गरेर अपमानित गरिएको र कानुनी रूपमा गर्दै आएको पेसामाथि हस्तक्षेप गरिएको आरोप लगाएका छन् ।

आन्दोलनको प्रभाव सबैभन्दा बढी मालपोत कार्यालयअन्तर्गत हुने दैनिक काममा देखिएको छ । जग्गा खरिद–बिक्री, नामसारी, रोक्का, पास जस्ता प्रक्रियाहरू अघि बढाउन आवश्यक प्रारम्भिक विवरण भू–सेवा केन्द्रमार्फत इन्ट्री गर्नुपर्ने व्यवस्था छ । तर, लेखापढी व्यवसायीहरूले सेवा नै बन्द गरेपछि प्रणाली नै अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राहीहरू आवश्यक कागजात तयार गर्न नसक्दा झन्झटमा परेका छन् ।

लेखापढी व्यवसाय सञ्चालनका लागि सरकारले निश्चित मापदण्ड तोकेको छ । व्यक्तिगत रूपमा काम गर्न ५० हजार रुपैयाँ र संस्थागत रूपमा सेवा सञ्चालन गर्न दुई लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ । साथै, सम्बन्धित निकायबाट अनुमति लिएर मात्र काम गर्न पाइन्छ । व्यवसायीहरूका अनुसार उनीहरूले जिल्ला अदालतबाट लाइसेन्स लिएर कानुनी रूपमा सेवा दिइरहेका छन् । यस्तो अवस्थामा राज्यले नै अपराधी जस्तो व्यवहार गर्नु अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन मोरङका अध्यक्ष कञ्चन न्यौपानेले सरकारले अपनाएको पछिल्लो नीति गैरकानुनी र अव्यवहारिक भएको आरोप लगाएका छन् । उनका अनुसार नियमित रूपमा सेवा दिँदै आएका व्यवसायीहरूलाई एकाएक धरपकड गर्नुले काम गर्ने वातावरण नै बिग्रिएको छ । उनले लाइसेन्स प्राप्त व्यक्तिलाई काम गर्न नदिनु राज्यकै नियम विपरीत भएको दाबी गरे ।

न्यौपानेले केही व्यक्तिको गल्तीका आधारमा सम्पूर्ण पेसालाई बदनाम गर्नु गलत भएको बताएका छन् । उनका अनुसार यदि कसैले सेवाग्राही ठगेको प्रमाणित हुन्छ भने त्यस्ता व्यक्तिमाथि कारबाही गर्न व्यवसायीहरू स्वयं तयार छन् । तर, फाइल बोकेको आधारमा पक्राउ गर्ने र जरिवाना तिराउने प्रवृत्ति तत्काल रोक्नुपर्ने उनको माग छ ।

व्यवसायीहरूले सरकारसँग संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले धरपकड तत्काल रोक्न, पक्राउ परेकाहरूलाई रिहा गर्न र पेसागत सम्मान सुनिश्चित गर्न माग अघि सारेका छन् । आफूहरूलाई अपराधी जस्तो व्यवहार नगरी कानुनी हैसियतअनुसार सम्मानजनक वातावरण दिनुपर्ने उनीहरूको भनाइ छ ।

सरकारी पक्ष भने कार्यालयहरूमा बिचौलियाको प्रभाव घटाउन कडाइ आवश्यक रहेको बताउँदै आएको छ । सेवाग्राहीलाई सिधै सेवा दिने वातावरण निर्माण गर्न र अनावश्यक आर्थिक लेनदेन रोक्न यस्तो कदम चालिएको दाबी गरिएको छ । तर, कार्यान्वयनको क्रममा देखिएको कठोरता र व्यापक धरपकडले सेवा प्रवाह नै अवरुद्ध हुने स्थिति सिर्जना भएको देखिन्छ ।

देशभर नै लागू गरिएको अनलाइन भू–सेवा प्रणालीमा लेखापढी व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । उनीहरूले सेवाग्राहीलाई कागजात तयारीदेखि प्रक्रिया पूरा गर्न सहयोग गर्दै आएका छन् । यही कारण उनीहरूको आन्दोलनले सेवा प्रणालीमै ठूलो असर पारेको छ ।

विराटनगरसहित मोरङका विभिन्न मालपोत तथा नापी कार्यालयमा दैनिक सयौँ सेवाग्राही पुग्ने गर्छन् । कतिपय सेवाग्राहीले सरकारको निर्णयको असर आफूहरूमा परेको गुनासो गरेका छन् भने केहीले सरकार र व्यवसायीबीचको विवाद तत्काल समाधान हुनुपर्ने बताएका छन् । यता लेखापढी व्यवसायीहरूले भने आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

सम्मानजनक रूपमा काम गर्ने वातावरण नबनेसम्म सेवा बन्द राख्ने अडान लिइएको छ । सरकारको प्रशासनिक सुधारको अभियान र व्यवसायीहरूको असन्तुष्टि बीचको टकरावले अहिले सबैभन्दा ठूलो मार सर्वसाधारण नागरिकले खेपिरहेका छन् । सरोकारवालाहरूले सेवा अवरुद्ध हुने अवस्था अन्त्य गर्न दुवै पक्षबीच तत्काल संवाद र सहमतिको आवश्यकता औंल्याएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.