आगलागीबाट तीन घर खरानी
विराटनगर : मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगीस्थित शान्ति टोलमा मंगलबार दिउँसो अचानक लागेको आगोले जलेर तीन वटा घर जलेर खरानी भएका छन् ।
स्थानीयका अनुसार एक्कासी सुरु भएको आगो केही समयमै तीव्र रूपमा फैलिँदा घरभित्रका कुनै पनि सामग्री जोगाउन सम्भव भएन । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार आगलागीबाट शान्ति मर्डी, रामे मर्डी र हेमराम नेपालका घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।
टिनको छानो र बाँसको टाटीबेरा भएका भुइँतले घरहरू तथा एउटा दुईतले घरमा आगोले ठूलो क्षति पुर्याएको लामिछानेले बताए । घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा लगायत दैनिक उपभोगका सामग्री सबै जलेर नष्ट हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागी भएको सूचना पाए लगत्तै नेपाल र सशस्त्र प्रहरी, रंगेली नगरपालिकाको दमकल, कानेपोखरी गाउँपालिकाको दमकल र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । संयुक्त प्रयासका कारण आगो अन्य घरमा फैलिन नपाए पनि प्रभावित परिवारका घर भने जोगाउन सकिएन ।
घटनापछि पीडित परिवारहरू अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् । उनीहरूलाई तत्काल खाद्यान्न, लत्ताकपडा र अस्थायी बसोबासका लागि त्रिपालको खाँचो देखिएको प्रहरीले जनाएको छ । सरोकारवाला निकायले राहत व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ । सहयोगका लागि दातृ निकायलाई पनि आह्वान गरिएको छ । आगलागीको कारण हालसम्म खुलेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !