कबाडी गोदाममा भेटिए चोरीको सफारीका पार्टपूर्जा
विराटनगर : विराटनगरमा बढ्दो सीटी सफारी चोरीको श्रृंखलाबीच प्रहरीले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विराटनगर महानगरपालिका–६ सरौचियास्थित एक कबाडी गोदाममा बिहीबार दिउँसो छापा मार्दा चोरी गरिएका सफारीका पार्टपूर्जा फेला परेपछि यस अपराधमा संगठित गिरोह सक्रिय रहेको पुष्टि भएको हो । विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा स्थानीय विजय सहनीद्वारा सञ्चालित गोदामबाट दुईवटा सीटी सफारीका विभिन्न पार्टहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
ती पार्टहरू अन्य कबाडी सामानले छोपेर लुकाइएको अवस्थामा भेटिएको थियो । जसले गिरोहको योजनाबद्ध तरिका झल्काउँछ । प्रारम्भिक अनुसन्धानले चोरी भएका सफारीहरू सिधै बिक्री गर्न नसकिने भएपछि तिनलाई टुक्र्याएर छुट्टाछुट्टै पार्टका रूपमा बेच्ने गरिएको देखाएको छ । यस्तो तरिकाले सवारीको पहिचान मेटाउने भएकाले अनुसन्धान जटिल बन्ने गरेको प्रहरीको भनाइ छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बरामद सामग्रीको प्रकृति हेर्दा यो काम एक व्यक्तिबाट मात्र सम्भव नभएको स्पष्ट भएको बताए । ‘विभिन्न स्थानबाट चोरी गरिएका सफारीहरू एउटै सञ्जालमार्फत गोदामसम्म ल्याइने गरेको संकेत देखिन्छ,’ उनले भने, ‘संलग्न व्यक्तिहरुको खोजी भइरहेको छ।’ प्रहरीले छापा मार्नुअघि नै सूचना पाएर गोदाम सञ्चालक सहनी फरार भएका छन् । सहनीको खोजी तीव्र बनाउँदै उनीसँग जोडिएको सञ्जाल, खरिद–बिक्री प्रक्रिया र आर्थिक कारोबारका बारेमा अनुसन्धान अघि बढाइएको एसपी कटवालले बताए ।
पछिल्लो समय विराटनगर र आसपासका क्षेत्रमा सीटी सफारी चोरीका घटना उल्लेख्य रूपमा बढेका छन् । सवारीधनीहरूको गुनासो बढेपछि प्रहरी सक्रिय बनेको थियो । सबैतिर कडा निगरानी गरिरहेको प्रहरीलाई प्राप्त सूचनाले गिरोहसम्म पुग्न सहयोग गरेको छ । प्रहरीले बरामद पार्टहरूको प्राविधिक परीक्षण गरेर सम्बन्धित सवारीको पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ ।
साथै, यस घटनालाई केन्द्रमा राखेर अनुसन्धानको दायरा अझ विस्तार गरिएको एसपी कटवालको भनाइ छ । उनले नागरिकलाई सवारीसाधनको सुरक्षामा सचेत रहन र शंकास्पद गतिविधि देखिए तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन् । यो प्रकरणले सीटी सफारी चोरी साधारण घटना नभई संगठित आपराधिक गतिविधिका रूपमा फैलिँदै गएको देखाएको कटवालले बताए ।
प्रतिक्रिया दिनुहोस !