मोरङमा दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, १३ जना घाइते
विराटनगर : मोरङका दुई छुट्टाछुट्टै स्थानमा सोमबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
दुर्घटना कानेपोखरी गाउँपालिका र बूढीगंगा गाउँपालिकामा भएको प्रहरीले जनाएको छ । कानेपोखरी गाउँपालिका–५ मा दिउँसो करिब २:२० बजे ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय मनोज कार्कीको मृत्यु भएको छ । जहदाबाट भौँसाबारीतर्फ जाँदै गरेको बा ३९ प ४३३३ नम्बरको मोटरसाइकललाई मे १ त ६७८७ नम्बरको ट्याक्टरले ब्याक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका कार्कीलाई तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । कार्की कानेपोखरी–७ का बासिन्दा हुन् । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३४ वर्षीय दिलबहादुर कार्की सामान्य घाइते भएका छन् । उनको उपचार सोही अस्पतालमा भइरहेको छ ।
यसैगरी, कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–५ बाँसबारीमा साँझ करिब ७ बजे माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०२२८ नम्बरको माइक्रोले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीको भनाइ छ ।
घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि फरार भएका माइक्रो चालकको खोजी कार्य तीव्र पारिएको छ ।
प्रतिक्रिया दिनुहोस !