मूल्यवृद्धि र सामग्री अभावको दोहोरो मारमा कोशीका विकास आयोजना

मूल्यवृद्धि र सामग्री अभावको दोहोरो मारमा कोशीका विकास आयोजना
मोरङको पथरीशनिश्चरे–९ स्थित सीता–डाँस–केर्खा सिँचाइ परियोजनाको मुख्य बाँध (हेडबक्स) निर्माणस्थल ।)
सुन्नुहोस्

विराटनगर : मध्यपूर्व युद्धको प्रभाव नेपालका विकास निर्माणमा प्रत्यक्ष रूपमा देखिन थालेको छ । युद्धले इन्धन आपूर्ति र मूल्य वृद्धिका कारण कोशी प्रदेशको निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको छ । 

निर्माण व्यवसायीहरूका अनुसार अहिलेको अवस्था सामान्य आर्थिक दबाब नभई समग्र विकास प्रणाली नै ठप्प हुने खतरातर्फ उन्मुख छ । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले मंगलबार जारी गरेको विज्ञप्तिमा इन्धनदेखि निर्माण सामग्रीसम्मको अस्वाभाविक मूल्यवृद्धिले उद्योग सञ्चालन असम्भव जस्तै बनेको उल्लेख गरिएको छ । 

महासंघका प्रदेश महासचिव रमेश कार्कीले डिजेल, पेट्रोल र मट्टितेल जस्ता इन्धनका साथै बिटुमिन, सिमेन्ट, डण्डीलगायतका अत्यावश्यक सामग्रीको मूल्य निरन्तर बढिरहेको र कतिपय अवस्थामा बजारमै अभाव देखिएको बताएका छन् । उनका अनुसार यस्तो अवस्थाले निर्माण कार्यको लागत अप्रत्याशित रूपमा बढेर कामको निरन्तरता नै जोखिममा परेको छ ।

महासंघका प्रदेश अध्यक्ष जनसेवक भण्डारीले निर्माण क्षेत्र अहिले बहुआयामिक समस्याबाट ग्रसित रहेको बताए । उनका अनुसार कच्चा पदार्थको अभाव, क्रसर उद्योगसँग जोडिएका विवाद, तथा नियामक निकायहरूको अस्पष्ट र अस्थिर नीतिले समस्या झन् जटिल बनाएको छ । ‘हामीले पटक–पटक सरकारको ध्यानाकर्षण गरायौं । तर, समाधानका लागि कुनै प्रभावकारी पहल भएन,’ उनले भने, ‘यसले निर्माण क्षेत्रलाई अझ असहज अवस्थामा धकेलेको छ ।’

निर्माण व्यवसायीहरूको मुख्य गुनासो मूल्य समायोजन प्रणालीप्रति केन्द्रित छ । हाल ठेक्काको मूल्य समायोजन नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित मूल्य सूचकांकका आधारमा हुने व्यवस्था छ । तर, व्यवसायीहरूका अनुसार उक्त सूचकांकले बजारको वास्तविक अवस्था झल्काउन सकेको छैन । बजारमा सामग्रीको मूल्य तीव्र रूपमा बढिरहँदा सूचकांकमा घटेको देखिने अवस्थाले उनीहरूलाई कागजी हिसाबले मात्र नभएर व्यवहारमा पनि घाटामा पुर्‍याइरहेको छ ।

महासंघ कोशीका वरिष्ठ उपाध्यक्ष केशर बुढाथोकीले अहिलेको अवस्थालाई ‘निर्माण आपतकाल’ को रूपमा व्याख्या गरेका छन् । उनका अनुसार निर्माण कार्य तीव्र हुने मुख्य सिजनमै लागत नियन्त्रण बाहिर जानु र सामग्री अभाव देखिनु अत्यन्त गम्भीर अवस्था हो । ‘काम गर्ने समयमै लागत यति धेरै बढेको छ कि परियोजना सञ्चालन गर्नु भनेको प्रत्यक्ष घाटा बेहोर्नु जस्तै भएको छ,’ बुढाथोकीले भने । 

इन्धन मूल्यवृद्धिको असर ढुवानी क्षेत्रमा सबैभन्दा बढी देखिएको छ । ढुवानी खर्च बढेसँगै निर्माण सामग्रीको अन्तिम मूल्य झन् महँगो भएको छ । विशेष गरी बिटुमिनको अभावले सडक निर्माणमा ठूलो असर परेको बुढाथोकी बताउँछन् । उनका अनुसार खाडी क्षेत्रमा बढेको तनावपछि यसको मूल्य उच्च दरमा पुगेको छ भने भारतबाट हुने आपूर्ति अवरुद्ध हुँदा नेपालमा उपलब्धता झन् कठिन बनेको छ । कालोपत्रे गर्ने मुख्य सिजनमै बिटुमिन नपाइनुले दर्जनौं सडक आयोजना प्रभावित भएको जानकारी उनले दिए । 

यस्तै, क्रसर उद्योगसँग सम्बन्धित कच्चा पदार्थको अभावले पनि निर्माण क्षेत्रलाई थप प्रभावित बनाएको छ । नदीजन्य सामग्रीको उत्खननमा लगाइएका प्रतिबन्ध, अस्पष्ट अनुमति प्रक्रिया र स्थानीय विवादका कारण आवश्यक सामग्री सहज रूपमा उपलब्ध हुन सकेको छैन । यसले साना तथा ठूला दुवै प्रकारका आयोजनामा प्रत्यक्ष असर पुर्‍याएको छ । व्यवसायीहरूले तत्काल नयाँ ‘मूल्य समायोजन मार्ग निर्देशिका–२’ ल्याउन सरकारसँग माग गरेका छन् । 

उनीहरूका अनुसार वर्तमान कानुनी व्यवस्था अपर्याप्त भएकाले यसले वास्तविक बजार मूल्य अनुसार समायोजन गर्न सक्दैन । पुराना तथा चालु सबै ठेक्काहरूमा यथार्थपरक मूल्य समायोजन लागू गरिए मात्र निर्माण क्षेत्रलाई केही राहत मिल्ने उनीहरूको धारणा छ । महासंघका अध्यक्ष भण्डारीका अनुसार अहिलेको अवस्थाले विकास आयोजनाहरूको गति स्पष्ट रूपमा सुस्ताएको छ । 

‘सडक, पुल, भवनलगायतका पूर्वाधार निर्माण कार्य प्रभावित भएका छन् । सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्दै विकासलाई तीव्रता दिने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने त्यसको प्रभाव देखिन सकेको छैन,’ उनले भने । व्यवसायीहरूका अनुसार अहिलेको अवस्था अघोषित ‘कन्स्ट्रक्सन होलिडे’ जस्तै बनेको छ । काम गर्न सक्ने वातावरण नै छैन ।

निर्माण क्षेत्रको यो संकट व्यवसायीहरूको समस्या मात्र नभई समग्र राष्ट्रिय विकाससँग जोडिएको विषय भएको वरिष्ठ उपाध्यक्ष बुढाथोकीको भनाइ छ । उनका अनुसार यदि समयमै नीतिगत हस्तक्षेप, प्रभावकारी मूल्य समायोजन प्रणाली र निर्माण सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न सकिएन भने देशभरका विकास आयोजना दीर्घकालीन रूपमा प्रभावित हुने खतरा बढ्दै जानेछ । ‘अहिलेको समस्या समाधानमा ढिलाइ गर्नु भनेको विकासको गति रोकिनु हो,’ बुढाथोकीले भने, ‘जसको असर अन्ततः सबै क्षेत्रमा पर्दै जाने देखिन्छ ।’ 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.