अन्याय भएको भन्दै कर्णालीका क्रिकेटर अनुज चनाराले गरे प्रदेशबाट नखेल्ने घोषणा
काठमाडौं : कर्णाली प्रदेशका मध्यम गतिका बलर अनुज चनाराले प्रदेशको क्रिकेट टिमबाट आफूलाई अन्याय गरेको भन्दै प्रदेश क्रिकेट टिमबाट नखेल्ने घोषणा गरेका छन् । जनकपुर र पर्सामा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आफूमाथि बारम्बार अन्याय भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्रदेशको टिमबाट नखेल्ने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘ममाथि विगत ३ वर्षयता टिमबाट भएको व्यवहारका कारण म यो लेख्न बाध्य भएको छु ।’ उनले आफूलाई टिममा उचित स्थान नदिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेका हुन् । उनले २०८१ बाट नै आफूलाई टिमले हेयको भावले हेरेको र प्रदर्शन राम्रो हुँदै गर्दा पनि उचित मूल्याङ्कन नभएको भन्दै लामो स्टाटसमा लेखेका छन् ।
‘वि.सं २०८१ मा दाङमा भएको खेलमा पुलिस क्लबविरुद्ध मैले १० ओभर बलिङ गर्दै २९ रन दिएर ४ विकेट लिएको थिएँ । २०८२ को प्रधानमन्त्री कपमा लुम्बिनीविरुद्धको खेल वर्षाका कारण रद्द भयो । त्यसपछि सुदूरपश्चिमविरुद्ध ५ ओभरमा ३३ रन दिएर २ विकेट लिएको थिएँ’, उनले लेखेका छन् ।
‘त्यसपछि लगातार २ खेलमा २–३ ओभर मात्र अवसर पाइयो, जसमा विकेट लिन सकिनँ र त्यसपछि लगातार ३ खेलमा टोली बाहिर राखियो । पुलिस क्लबविरुद्ध फेरि मौका पाउँदा ६ ओभरमा ३५ रन दिएर २ विकेट लिएको थिएँ, तर त्यसपछि फेरि आज गण्डकी संघको खेलमा बाहिर राखियो’, उनले लेखे ।
उनले आफूलाई टिममा उचित स्थान किन नदिइएको भन्दै कप्तानसँग सोध्दा माथिको आदेश भन्ने उत्तर पाएको समेत उनले स्टाटसमा लेखेका छन् । ‘मैले कप्तानसँग सोध्दा ‘माथिबाट जे आदेश आउँछ, त्यही गर्छु’ भन्ने जवाफ पाइयो ।’ उनले लामो स्टाटसको अन्त्यमा अबदेखि कर्णाली प्रदेशबाट नखेल्ने समेत उल्लेख गरेका छन् । ‘यी सबै परिस्थितिलाई मध्यनजर गर्दै, मैले आजदेखि कर्णाली प्रदेशबाट नखेल्ने निर्णय गरेको छु ।’ चनारा यू–१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसम्म अटाएका खेलाडी हुन् ।
प्रतिक्रिया दिनुहोस !