बाल सुधार गृहभित्र लागुऔषध छिराउने प्रयास असफल, दुई जना पक्राउ
विराटनगर : विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङको बाल सुधार गृहमा लागुऔषध पुर्याउने प्रयास गर्ने दुई जना पक्राउ परेका छन् ।
कारागारभित्र रहेको बाल सुधार गृहमा रहेका व्यक्तिलाई भेट्न मंगलबार दिउँसो करिब ३ बजेतिर पुगेका भारतको बिहार सुपौल घर बताउने साहवाज अन्सारी र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ का दिल्साद अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुवै जना पक्राउ परेसँगै कारागारभित्र लागुऔषध छिराउने (सप्लाई गर्ने) उनीहरुको प्रयास असफल भएको छ ।
प्रहरीका अनुसार उनीहरू बाल सुधार गृहमा रहेकालाई भेटघाटका लागि आवश्यक सामग्री बोकेर कारागार परिसरमा प्रवेश गरेका थिए । तर, उनीहरूको गतिविधि शंकास्पद देखिएपछि सुरक्षामा खटिएका प्रहरीले चेकजाँच गरेका थिए । सो क्रममा भेटघाटका लागि ल्याइएको सामानभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए ।
उनका अनुसार पक्राउ परेकाको साथबाट १५० ग्राम गाँजा, नटजासेन १० पत्ता र पाँच पोका खैनी बरामद भएको छ । प्रारम्भिक अनुसन्धानबाट यी सामग्री कारागारभित्रको बाल सुधार गृहमा रहेका व्यक्तिसम्म पुर्याउने उद्देश्यले ल्याइएको पत्ता लागेको छ । यद्यपि, यसबारे थप पुष्टि हुन बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर सोधपुछ गर्ने काम भइरहेको डीएसपी लामिछानेले बताए । घटनाले कारागारभित्र सुरक्षाको चुनौती अझै कायम रहेको संकेत गरेको छ । यस्ता गतिविधि नियन्त्रणका लागि कारागारभित्र निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !