मोरङमा भीरबाट लडेर एक पुरुषको मृत्यु
विराटनगर : मोरङमा पिकनिकबाट घर फर्किंदै गरेका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा केराबारी गाउँपालिका–१, सेलेङका अन्दाजी ४८ वर्षीय अटलबहादुर मगर रहेका छन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार मगर जगरे भन्ने स्थानबाट पिकनिक खाएर फर्किने क्रममा अचानक भीरबाट लडेका थिए। घटनाबारे बुधबार दिउँसो करिब ४:३० बजे प्रहरीलाई जानकारी प्राप्त भएको थियो।
जानकारी लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा टोली परिचालन गरिएको छ। घटनास्थल दुर्गम तथा विकट क्षेत्रमा पर्ने भएकाले प्रहरी टोलीलाई पुग्न समय लाग्ने बताइएको छ।
धनकुटाको भेडेटार हुँदै घुमेर जानुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ। प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने छ।
प्रतिक्रिया दिनुहोस !