भारतबाट ब्राउन सुगर लिएर आउँदै गर्दा काठमाडौंका युवक विराटनगरमा पक्राउ
विराटनगर : विराटनगरमा लागुऔषधसहित काठमाडौंका एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार भारतबाट ब्राउन सुगर (खैरो हेरोइन) लिएर नेपाल फर्किँदै गरेका ३१ वर्षीय सयल थापामगरलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो।
काठमाडौं महानगरपालिका–२६ बसोबास गर्ने थापामगर भारतको जोगवनीबाट पैदल मार्ग हुँदै नेपाल प्रवेश गर्दै गर्दा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले रोकेर जाँच गरेको थियो। इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
शरीर खानतलासी गर्दा थापामगरको साथबाट २० ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। उनलाई दिउँसो करिब ३:३० बजेतिर नियन्त्रणमा लिइएको थियो। हाल थापामगरलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ।
उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान इन्स्पेक्टर कविन राईको नेतृत्वमा भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !