असल खानपान, खाइलाग्दो जिउज्यान
सहरी क्षेत्रमा हल्का खालको काम गर्ने र विलासी खालका खाना खाने प्रवृत्ति छ। त्यसमाथि अस्वस्थकर खानाले जिउज्यानलाई हानि पुर्याइरहेको हुन्छ। कयौं व्यक्तिहरूले पेटभरि खानसमेत पाइरहेका हुँदैनन्। नेपाल जीवनस्तर मापन सर्वेक्षण, २०११ का अनुसार, १६ प्रतिशत नेपालीले पर्याप्त खाना खान पाउँदैनन् भन्ने देखाएको छ। नेपाली घरपरिवारमा सरदर ७२ प्रतिशत क्यालोरी मुख्य खानाबाट प्राप्त हुने अध्ययनले देखाएको छ।
खानाको विविधता मापनका सन्दर्भमा, एक साताभित्र खानुपर्ने विभिन्न आठ समूहका खानामध्ये नेपाली घरपरिवारले खाने खानामा ६ दशमलव ५ समूहका विविध खाना अपर्याप्त छन्। खाना खाँदा सात समूहको खानाबाट कम्तीमा चार समूह जस्तै अन्न, गेडागुडी, पशुजन्य खाना (दूध, दही, घिउ, मासु, अन्डा, माछा) हरियो सागपात र पहेंला फलफूल हरेक दिनु खानुपर्छ।
संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठनको खाद्य सुरक्षा तथा पोषणसम्बन्धी प्रतिवेदन, २०१८ का अनुसार अधिकतम नेपाली जनसंख्यामा (८४ दशमलव ४ किलो प्रतिव्यक्ति प्रतिवर्ष) चामलको आपूर्ति हुने गर्छ। मकै (४५ दशमलव ४ किलो प्रतिव्यक्ति प्रतिवर्ष ) गहुँ (४५ दशमलव २ किलो प्रतिव्यक्ति प्रतिवर्ष र कोदो पर्छन् ।
सहरी क्षेत्रका नेपाली परिवारमा खाना बनाउँदा प्रशोधित वस्तुको ज्यादा प्रयोग हुने गरेको पाइएको छ। यसको अलावा पोषणको हिसाबले महत्वपूर्ण मानिएका गहुँको चिउरा, जौ, जुनेलोजस्ता अन्नको प्रयोग निकै कम हुने गर्छ। यस्ता अन्नमा बढी भिटामिन र खनिजजस्ता पौष्टिक तत्व पाइन्छन्। सधैं एकै किसिमको अन्नको प्रयोग तथा बढी मात्रामा प्रशोधन गरिएको पिठो तथा चामलको प्रयोग हुनु स्वास्थ्य र सन्तुलित आहारको दृष्टिले ठीक होइन।
- खाना खाँदा सात समूहको खानाबाट कम्तीमा चार समूह जस्तै अन्न, गेडागुडी, पशुजन्य खाना (दूध, दही, घिउ, मासु, अन्डा, माछा) हरियो सागपात र पहेंला फलफूल हरेक दिनु खानुपर्छ।
- खाना पकाउने गलत अभ्यासका कारण पनि खानामा हुने पोषक तत्तव नष्ट हुने गर्छ।
दिनहुँ फलफूल खाऔं
रोगविरुद्ध पर्याप्त सुरक्षा पाउनका लागि कम्तीमा पाँच किसिमका फलफूल सिफारिस गरिएको छ। आँप, केरा, सुन्तला, स्याउ, अंगुर, अम्बा, मेवालगायतका फलफूल मौसमअनुसार बजारमा पाइन्छन्। तर, फलफूल किन्दा विषादी मिसिएको छ ÷छैन ? त्यसमा ख्याल गर्नुपर्छ।
तरकारी एवं सागपात पर्याप्त लिऔं
घरमा पकाएका वा बनाएका खानपान नै अधिकांश नेपालीको दैनिक खानपान हो। घरमा कसरी खानेकुरा पकाइन्छ वा बनाइन्छ भन्ने तौरतरिकाबाट पनि खानेकुराको पोषण र स्वच्छतामा असर पारिरहेको हुन्छ। खाना पकाउने गलत अभ्यासका कारण पनि खानामा हुने पोषक तत्व नष्ट हुने गर्छ।
खाना पकाउने गलत अभ्यासहरू जस्तै भात पकाउनु अघि धेरै पटक पखाल्ने, हरियो सागलाई धेरै समय पकाउने वा तार्ने आदि हुन्। तरकारी तथा सागपात पकाउँदा पनि ध्यान दिनुपर्छ। तरकारी एवं हरियो ताजा सागसब्जी खानामा नहुँदा विभिन्न भिटामिनजन्य समस्याहरू देखिने गरेको छ।
प्रोटिनयुक्त खानेकुरा समावेश गरौं
खानामा पर्याप्त मात्रामा प्रोटिन नहुनाले बालबालिकामा प्रोटिनका कारण हुने कुपोषण बढी हुने गरेको पाइएको छ। नेपाल बहुसूचक सर्वेक्षण, २०१९ का अनुसार नेपाली नागरिकमा प्रोटिनको आपूर्ति ६६ ग्राम प्रतिदिन प्रतिव्यक्ति रहेको छ। जसमध्ये ५५ ग्राम वनस्पति स्रोत अर्थात् अन्न, दाल र गेडागुडीबाट उपलब्ध हुने गर्छ। बालबालिकाको वृद्धि विकासको लागि माछा, मासु, अन्डा, दूधजस्ता खानेकुरामा पाइने प्रोटिन तथा आइरन उच्च गुणस्तरको हुन्छ।
दुग्धजन्य परिकारको उपभोग गरौं
संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठनको खाद्य सुरक्षा तथा पोषणसम्बन्धी प्रतिवेदन, २०१८ का अनुसार दक्षिण पूर्वी एसियामा नै दूधको प्रयोग अतिकम (३० किलोग्राम प्रतिव्यक्ति प्रतिवर्षभन्दा पनि कम) हुने गरेको देखाएको छ। दूध र दुग्धजन्य अन्य उत्पादनवाट शरीरले पाउने फाइदा हेर्दा यसको कम उपभोगले पोषणसँग सम्बन्धित विभिन्न रोग लाग्न सक्ने हुन्छ।
चिल्लो पदार्थको सन्तुलित उपभोग
घिउ, तेलजस्ता चिल्ला खाद्यवस्तु शरीरको लागि नभई नहुने हुन्। तर, अत्यधिक मात्रामा तेल, घिउ, तारेको खाना खानेबानीले समस्या निम्त्याउने जोखिम हुन्छ। यसको अधिक उपभोगले रगतमा चिल्लोको मात्रा बढाइदिन्छ जसले गर्दा मुटुसम्बन्धी रोगको जोखिम बढाउँदछ। साथै सहरी क्षेत्रमा बढ्दो चिल्लो पदार्थको उपभोगले मोटोपना दिनानुदिन बढ्दै गइरहेको छ।
स्याचुरेटेड फ्याट (पशुजन्य पदार्थबाट प्राप्त हुने) र ट्रान्सफ्याट (डाल्डा घिउ, बोसो)को प्रयोग कम गर्नुपर्छ। भटमास, तोरी तिल, सूर्यमुखी र ओलिभ तेलको प्रयोग मध्यम मात्रामा गर्नु राम्रो हुन्छ। अत्यधिक मात्रामा तेल, घिउको प्रयोग गर्नु हुँदैन। चिल्लो पदार्थको सन्तुलित उपभोग गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !