महोत्तरीमा सुर्ती फर्ममा आगलागी, २० लाखको क्षति
ढल्केवर : महोत्तरीमा तीनवटा सुर्ती फर्ममा आगलागी भएको छ। बलवा नगरपालिका–७ बनौटास्थित रहेको तीनवटा सुर्ती फर्ममा आगलागी भएको हो।
स्थानीय दिपेन्द्र महतो र हरिचरण महतोले खेतबाट ल्याएर सुकाउन राखेका छुट्टाछुट्टै तीन वटा सुर्ती फर्ममा बुधबार मध्यराति आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको हो।
पीडितलाई उद्धृत गर्दै आगलागीबाट दीपेन्द्र महतोको १० लाख रुपैयाँ बराबरको सुर्ती फर्म तथा ५ लाख रुपैयाँ बराबरको तयारी अवस्थामा रहेको सुर्ती जलेर नष्ट भएको प्रहरीले जनाएको छ। त्यसैगरी हरिचरण महतोको ५ लाख रुपैयाँ बराबरको सुर्ती पनि जलेर क्षति पुगेको बताइएको छ।
स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टले बताए। ‘आगलागीको कारणबारे खुल्न सकेको छैन। अनुसन्धानको काम भइरहेको छ,’ डीएसपी भट्टले भने।
पीडित दुवै किसानले करिब १ बिघा जमिनमा सुर्ती खेती गरेका थिए। बजारमा बिक्रीका लागि तयार भएको अवस्थामा आगलागी हुँदा आम्दानी लिने बेला ठूलो क्षति व्यहोर्नुपरेको उनीहरूको दुखेसो छ।
प्रतिक्रिया दिनुहोस !