युद्धविरामको समय सीमा सकिँनै लाग्दा इरान–अमेरिका किन टाढिँदै छन् वार्ताबाट ?
इरान : युद्ध अन्त्यको आशा जाग्दै गरेका बेला अचानक अमेरिका र इरान वार्ताबाट अझ टाढिँदै गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यबारे चाँडै राम्रो खबर आउन सक्ने भनेर आशा जगाइरहेका बेला एकाएक परिस्थिति बदलिँदै गएको हो ।
राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यको आशा जनाएको केही घण्टामै फेरि निरासाका खबर फैलिन थाले । त्यसपछि अमेरिका र इरानका लगातार आएका अभिव्यक्तिहरुहरूले पनि अहिलेका लागि शान्ति वार्ता अझै टाढा छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईका अनुसार इरानले हाल अमेरिकासँग हुने अर्को चरणको वार्तामा सहभागी हुने कुनै योजना बनाएको छैन । अमेरिकी प्रतिनिधिमण्डल सम्भावित दोस्रो चरणको पाकिस्तान–प्रायोजित अमेरिका–इरान वार्ताका लागि इस्लामाबाद पुग्ने तयारी गरिरहेका बेला इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो भनाई बाहिरिएको हो । बकाईले भने, ‘अहिलेसम्म अर्को चरणको वार्ताको कुनै योजना छैन र यसबारे कुनै निर्णय पनि गरिएको छैन ।’
यसअघि सोमबार नै डोनाल्ड ट्रम्पले ट्रुथ सोशल मिडियामा लेखेका थिए, ‘यदि इरानका नयाँ नेताहरू समझदार भए भने इरानको भविष्य निकै उज्ज्वल र समृद्ध हुन सक्छ ।’ अमेरिका र इरानबीच ८ अप्रिलदेखि लागू भएको युद्धविराम २२ अप्रिलमा समाप्त हुँदैछ । पाकिस्तान दुवै पक्षबीच दोस्रो चरणको वार्ताको आयोजना गर्न तयारी गरिरहेको छ । यसअघि ११ र १२ अप्रिलमा इस्लामाबादमा दुवै पक्षबीच वार्ता भएको थियो, तर लामो छलफलपछि पनि कुनै सहमति हुन सकेन ।
प्रतिक्रिया दिनुहोस !