वेवारिसे देखाउन खोजिएको शवभित्र लुकेको अपराध

वेवारिसे देखाउन खोजिएको शवभित्र लुकेको अपराध

सिमरा : पथलैया–वीरगञ्ज सडक खण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरास्थित सडक पेटीमा गत सोमबार बिहान एक वेवारिसे शव फेला पर्छ । व्यस्त राजमार्गको  छेउमै एक पुरुष लडिरहेको अवस्थामा जस्तो देखेपछि स्थानीयले तत्काल प्रहरीलाई जानकारी गराउँछन् ।  

ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक दिवाकर गणेशको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुग्छ । मृत भेटिएका व्यक्ति पर्साको पटेर्वा सुगौली गाँउपालिका–४ का ३५ वर्षीय पल्टु माझी मुसहर भएको खुल्छ । शवको मुचुल्का गर्ने क्रममा घटना शंकास्पद देखिन्छ । प्रहरीले नजिकैको सिसिटिभी क्यामराको फुटेज जाँच गर्छ । अनि सिसिटिभी क्यामराको फुटेजले खोल्छ वेवारिसे देखाउन खोजिएको शवभित्रको अपराध । 

ईलाका प्रहरी कार्यालय सिमराले घटनाको थप अनुसन्धान गर्न तत्कालै प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गर्छ । सिसिटिभी फुटेजको दृश्यबाट अनुसन्धान सुरु गरेको थापा नेतृत्वको प्रहरी टोलीले ४८ घण्टाभित्रै अपराधमा संलग्न एउटा कारसहित तीन जनालाई पक्राउ गर्छ । 

बा ३ च १४४३ नम्बरको निलो रङको कारमा आएका केही व्यक्तिले शव सडकमा छोडेर फरार भएको भिडियोमा देखिन्छ । उक्त कार सिमरा हुँदै मकवानपुरको रातोमाटेबाट हेटौंडातर्फ लागेको सिसिटिभी फुटेजमा देखेपछि प्रहरी सहायक निरीक्षक बृजेश यादव नेतृत्वको प्रहरी टोली पछ्याउँदै अघि बढ्छ । प्रहरीले  घटनाको भोलिपल्ट बैशाख ८ गते मंगलबार साँझ काभ्रेको बनेपा नगरपालिका–८ धुलबजारस्थित मुगले अटो वर्कशपबाट कारसहित चालक मुन्ना भनिने समिउल्लाह आलमलाई पक्राउ गर्न सफल हुन्छ ।  

भारत बिहार घर भई पाँचखाल नगरपालिका–४ तामाघरमा बस्दै आएका आलम पक्राउ परेपछि घटनाको थप तथ्य खुल्छ । आलमका अनुसार उक्त कार भाडामा प्रयोग भएको थियो । माझीलाई लिएर काभ्रेबाट बारासम्म आएको उक्त कारमा पर्सा सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुरका २० वर्षीय बिशाल साह र बारा फेटा गाउँपालिका–३ गाछीटोलका २५ वर्षीय कौशल देवान सवार रहेका हुन्छन् । 

प्रहरीले साहलाई सिमरा र देवानलाई नितनपुरबाट पक्राउ गर्छ । साह, देवान र माझी घर बनाउने मिस्त्री भएको खुल्छ । उनीहरु पछिल्लो समय काभ्रेको पाँचखाल नगरपालिका–५ मा बसेर घर बनाउने काम गर्दै आएका थिए । वीरगञ्ज महानगरपालिका–१ छपकैया घर भएका ठेकेदार मेहराज अन्सारीले उनीहरुलाई काममा लगाएका हुन् । 

साह र देवानले प्रहरीलाई दिएको प्रारम्भिक बयानका अनुसार माझी केही दिनदेखि बिरामी थिए । उनको अवस्था दिन प्रतिदिन बिग्रँदै गएको थियो । अवस्था चिन्ताजनक बन्दै गएपछि ठेकेदार अन्सारीले साह र देवानलाई प्रयोग गरेर माझीलाई घर नजिकैको सडकमा ल्याएर छोडिदिने जुक्ति निकाल्छन् र कार भाडामा लिएर माझीलाई पाँचखालबाट बारा पठाउँछन् । 

साह र देवानले पाँचखालबाट बारा ल्याउने क्रममा माझीको निधन भएको बयान प्रहरीलाई दिएका छन् । आफूहरुले ठेकेदारले भने अनुसार ल्याई दिने काम मात्रै गरेको भनाई उनीहरुको छ । तर प्रहरीले भने मृतकको शव व्यवस्थापनमा उनीहरु मुख्य भूमिकामा देखिएकाले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको बताएको छ ।   

‘बाटोमा ल्याउँदै गर्दा मृत्यु भएपछि सडकमै छोडेर हिँडेको भनेर भनिएको छ’, अनुसन्धान अधिकृत प्रहरी निरीक्षक थापाले भने, ‘घटना रहस्यमय छ । हामीले अनुसन्धान सुरु गरिसकेका छौं । थप तथ्य खुल्दै जानेछ ।’  चैत २३ गते काम गर्न भन्दै घरबाट पाँचखाल गएका माझीको मृत्यु शंकास्पद देखिएको प्रहरी निरीक्षक थापाको भनाई छ ।

बिरामी भएकै समयमा परिवारसँग सम्पर्क नगराउनु र शव सडकमै छोडेर हिड्ने विषय सामान्य नरहेको बताउँदै थापाले प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरिरहेको बताए । घटनापछि पीडित परिवारले कार चालक, ठेकेदार र दुई मिस्त्रीसहित चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । मृतक माझीको श्रीमती, एक छोरा र एक छोरी छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.