सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा चुनौती : प्रहरी महानिरीक्षक कार्की
काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा चलेका सामाजिक सञ्जालहरु दर्ता नभएका कारण अनुसन्धानमा चुनौति देखिएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महानिरीक्षक कार्कीले फेसबुक, इन्स्टाग्रामलगायतका विदेशी सामाजिक सञ्जालहरु नेपालमा दर्ता नहुँदा अनुसन्धानमा चुनौती देखिएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालबाट समयमा नै जानकारी प्राप्त गर्न नसक्दा र आपत्तिजनक सामग्री हटाउने प्रक्रियामा स्पष्ट कानुनी व्यवस्था नहुँदा क्षति नियन्त्रणमा ढिलाई हुने गरेको बताए । अहिले प्रहरी अधिकारीहरुले व्यक्तिगत सम्बन्धका आधारमा सामाजिक सञ्जाल प्रदायकसँग आवश्यक डाटा प्राप्त गरिरहेको उनको भनाइ छ । कार्कीले प्रहरीको तीन बर्षे रणनीति योजना छिटै सार्वजनिक गर्ने र त्यसमा साइबर बुलिङका बिषयमा स्पष्ट नीति ल्याइने जानकारी दिए । पीडितहरुको गोपनियतालाई समेत ख्याल गर्दै साइबर बुलिङका घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखिएको उनले बताए ।
उनले साइबरसम्बन्धी बिषयहरुलाई पहिले काठमाडौंबाट मात्रै अनुसन्धान हुने गरेकोमा अहिले काठमाडौं बाहिरबाट पनि अनुसन्धान हुने गरेको बताए । महानिरीक्षक कार्कीले प्रहरीको साइबर व्युरोमा गत बर्ष १८ हजार ९२६ उजुरी परेकामा यस आर्थिक बर्षको ९ महिनामा मात्रै झण्डै १५ हजारको संख्यामा उजुरी दर्ता भएको जानकारी दिए । बैठकमा समिति सदस्यहरुले साइबर सुरक्षालाई प्रभावकारी बनाउन सामाजिक सञ्जालको नियमनसम्बन्धी नीति निर्माण प्रक्रियालाई अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस !