स्वास्थ्य दिवसको सार्थकता
नेपालले अझै पनि कुपोषण, मातृ मृत्यु, नसर्ने रोग, प्रदूषण, जलवायु परिवर्तन, तथा स्वास्थ्य सेवाको असमान पहुँचजस्ता चुनौतीहरु भोगिरहेको छ ।
विश्व स्वास्थ्य दिवस प्रत्येक वर्ष अप्रिल ७ मा मनाइन्छ। यस वर्ष पनि विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाइयो। यो दिवस विश्व स्वास्थ्य संगठनको स्थापना भएको सम्झनामा मनाइन्छ। इतिहासको कुरा गर्दा सन् १९४८ मा यसै दिन विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो। प्रत्येक वर्ष विश्व स्वास्थ्य दिवस मनाउनुको मुख्य उद्देश्य विश्वभरका मानिसको ध्यान महत्वपूर्ण स्वास्थ्य समस्यातर्फ आकर्षित गर्नु, जनचेतना फैलाउनु, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु, र सरकार तथा स्वास्थ्य संस्थाहरूलाई जनस्वास्थ्य सुधारमा सक्रिय बनाउनु रहेको छ।
प्रत्येक वर्ष फरक विषय वा नारा राखेर कुनै विशेष स्वास्थ्य समस्यालाई प्राथमिकता दिइन्छ। विश्व स्वास्थ्य दिवस २०२६ को नारा ‘टुगेदर फर हेल्थ, स्ट्यान्ड विथ साइन्स अर्थात् ‘स्वास्थ्यका लागि एकजुट बनौं, विज्ञानको पक्षमा उभिऔं’ रहेको छ। वर्तमान परिप्रेक्ष्यमा यो नारा नेपाली स्वास्थ्य क्षेत्रको लागि पनि अत्यन्त सान्दर्भिक छ। नेपालमा अझै पनि धेरै मानिस स्वास्थ्यसम्बन्धी निर्णय गर्दा वैज्ञानिक प्रमाणभन्दा परम्परागत विश्वास, अफवाह, सामाजिक सञ्जालका भ्रमपूर्ण सूचनाहरू वा अप्रमाणित उपचारतर्फ आकर्षित हुने अवस्था छ। उदाहरणका लागि खोपप्रति डर, एन्टिबायोटिकको जथाभावी प्रयोग, मातृ तथा शिशु स्वास्थ्यसम्बन्धी गलत धारणाहरू वा महामारीका समयमा फैलिने भ्रमहरू वर्तमान नेपाली स्वास्थ्य क्षेत्रका ठूला चुनौती हुन्। यस्तो अवस्थामा ‘विज्ञानको पक्षमा उभिनु’ भन्ने सन्देशले प्रमाणमा आधारित उपचार, सही स्वास्थ्य शिक्षा, र विशेषज्ञको सल्लाहलाई प्राथमिकता दिन प्रेरित गर्छ।
यो नारा नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रमा झन् बढी उपयोगी छ, जहाँ अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा, प्रयोगशाला परीक्षण, प्रशिक्षित स्वास्थ्यकर्मी र आधुनिक उपचारको पहुँच सीमित छ। विज्ञानमा आधारित स्वास्थ्य नीति, अनुसन्धान, रोग निगरानी, खोप अभियान, पोषण सुधार, सरसफाइ, र सुरक्षित मातृत्व कार्यक्रमले मात्र जनस्वास्थ्यमा सुधार ल्याउन सक्छ। नेपालले हाल सामना गरिरहेका समस्याहरू– जस्तै वायु प्रदूषण, कुपोषण, नसर्ने रोग, महामारीको जोखिम, जलवायु परिवर्तन, पशुजन्य रोग र स्वास्थ्यकर्मी अभावको एकमुष्ट समाधान गर्न ‘वान हेल्थ’ अर्थात् एकल÷एकीकृत स्वास्थ्य दृष्टिकोण पनि आवश्यक छ।
यसले मानिस, पशु, वातावरण र समाजबीचको सम्बन्धलाई जोडेर स्वास्थ्यको समग्र सुधारमा जोड दिन्छ। विश्व स्वास्थ्य दिवस २०२६ को नाराले यही अवधारणालाई बलियो बनाएको छ। यसैले, यो नारा केवल अन्तर्राष्ट्रिय क्षेत्रमा मात्र नभई नेपालको वर्तमान स्वास्थ्य चुनौती समाधान गर्न आवश्यक मार्गदर्शन पनि हो। यदि नेपालले विज्ञानमा आधारित स्वास्थ्य नीति, जनचेतना, र अनुसन्धानलाई प्राथमिकता दिन सक्यो भने स्वास्थ्य क्षेत्रमा ठूलो सुधार सम्भव छ।
यसैगरी यसपटकको विश्व स्वास्थ्य दिवसको नारा टुगेदर फर हेल्थ, स्ट्यान्ड विथ साइन्स र सस्टेनेबल डिभलेपमेन्ट लक्ष्यहरूबीच धेरै स्पष्ट तादाम्यता छ। विशेषगरी यो नारा सिधै संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यको तेस्रो बुँदासँग जोडिन्छ, जसको उद्देश्य सबै उमेरका मानिसका लागि स्वस्थ जीवन र कल्याण सुनिश्चित गर्नु हो। विज्ञानमा आधारित नीति, खोप, रोग नियन्त्रण, मातृ–शिशु स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य र स्वास्थ्य सेवाको पहुँच सुधार दिगो विकास लक्ष्यको तेस्रो बुँदाको मुख्य आधार हुन्।
यस नाराले एकीकृत स्वास्थ्य अवधारणालाई पनि जोड दिएको छ, जसले मानिस, जनावर, बोटबिरुवा र वातावरणको स्वास्थ्य एकअर्कासँग सम्बन्धित छन् भन्ने मान्यता राख्छ। त्यसैले यो नारा दिगो विकास लक्ष्यको छैटौं, दिगो विकास लक्ष्यको तेह्रौं, दिगो विकास लक्ष्यको पन्ध्रौं र दिगो विकास लक्ष्यको दोस्रो बुँदासँग पनि सम्बन्धित छ। यी बुँदाहरू स्वच्छ पानी, सुरक्षित खाना, वातावरण संरक्षण, जलवायु परिवर्तन नियन्त्रण र पशुजन्य रोग रोकथाम सबै स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषय हुन्।
त्यसैगरी, स्वास्थ्यका लागि एकजुट भन्ने अंशले सहकार्य, साझेदारी र अन्तर्राष्ट्रिय एकताको आवश्यकता देखाउँछ। जुन दिगो विकास लक्ष्यको सत्रौं बुँदासँग मेल खान्छ, किनकि स्वास्थ्य सुधारका लागि सरकार, वैज्ञानिक, स्वास्थ्यकर्मी, अन्तर्राष्ट्रिय संस्था र समुदाय सबै मिलेर काम गर्नुपर्छ। नेपालको सन्दर्भमा हेर्दा पनि यस पटकको नारा र दिगो विकास लक्ष्यबीचको सम्बन्ध निकै महत्वपूर्ण छ। किनकि नेपालले अझै पनि कुपोषण, मातृ मृत्यु, नसर्ने रोग, प्रदूषण, जलवायु परिवर्तन, तथा स्वास्थ्य सेवाको असमान पहुँचजस्ता चुनौतीहरू भोगिरहेको छ। यस्ता समस्याको समाधानका लागि विज्ञानमा आधारित नीति र बहुपक्षीय सहकार्य आवश्यक हुन्छ।
प्रतिक्रिया दिनुहोस !