पूर्वी तराईमा प्रहरीको ‘स्वीप अप्रेसन’ : २५४ जना पक्राउ

पूर्वी तराईमा प्रहरीको ‘स्वीप अप्रेसन’ : २५४ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : पूर्वी तराईका मोरङ, झापा र सुनसरी जिल्लामा बढ्दो लागुऔषध कारोबार, दुव्र्यसन र गुण्डागर्दी नियन्त्रण गर्न नेपाल प्रहरीले एकैसाथ सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ ले उल्लेखनीय परिणाम दिएको छ । तीन जिल्लामा एकै समयमा गरिएको विशेष कारबाहीबाट २५४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय सुरक्षा चुनौतीको रूपमा हेरिएको गतिविधिमाथि प्रहरीले ठोस हिसाबले हस्तक्षेप गर्न थालेको हो । वैशाख ९ गते बेलुका ६ बजेदेखि वैशाख ११ गते बिहानसम्म निरन्तर सञ्चालन गरिएको अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका इकाइहरूले ७२ जनालाई नियन्त्रणमा लिएका छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा लागुऔषध बिक्री वितरण तथा सञ्चयमा संलग्न व्यक्तिदेखि लिएर गुण्डागर्दीमार्फत समुदायमा आतंक सिर्जना गर्ने, धम्की दिने, राति शंकास्पद रूपमा हिँडडुल गर्ने र सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने समूहसम्म रहेका छन् । मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार समाजमा अराजकता फैलाउने र शान्ति सुरक्षामा प्रत्यक्ष असर पार्ने गतिविधि नियन्त्रण गर्नु अभियानको मुख्य लक्ष्य हो ।

पक्राउ परेकामाथि कसुरअनुसार कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको उनले बताए । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले पछिल्लो समय विशेष गरी सहरी क्षेत्रमा लागुऔषध प्रयोग र साना आपराधिक समूह सक्रिय बन्दै गएको सूचनाका आधारमा आक्रामक अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार आगामी दिनमा पनि यस्ता कारबाहीलाई थप तीव्रता दिइनेछ । 

उता जिल्ला प्रहरी कार्यालय झापाले सञ्चालन गरेको अभियानअन्तर्गत एकै दिन ६२ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकामध्ये केहीको साथबाट २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र ९ हजार रुपैयाँ नगद बरामद भएको झापा प्रहरीका सूचना अधिकारी, डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार जिल्लामा लागुऔषध प्रयोग र ओसारपसार उल्लेखनीय रूपमा बढेपछि विशेष अभियान आवश्यक ठानिएको थियो । 

दमक नगरपालिका–४ ताराबारी क्षेत्रमा सडक सुरक्षालाई लक्षित गर्दै विशेष ट्राफिक जाँच कार्यक्रम समेत सञ्चालन गरिएको थियो । दमक नगरपालिका, दमक अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको सहकार्यमा भएको उक्त कार्यक्रममा ५४ जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ३ जना चालक र २ जना सहचालकले लागुऔषध सेवन गरेको पुष्टि भएको खड्काले बताए । २ जना चालकले मदिरा सेवन गरी सवारी चलाएको भेटिएको उनको भनाइ छ । 

यसै क्रममा सार्वजनिक सुरक्षामा असर पुर्‍याउने गतिविधिमा संलग्न ६ जनालाई पक्राउ गरिएको छ । प्रहरीमाथि गालीगलौज तथा दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकामध्ये मेचीनगरका सन्तोष सिवाकोटी, बिर्तामोडका सुरज चौधरी, शिवसताक्षीका निर्मल सिटौला, उर्लाबारीका दिवश लिम्बू, हेटौंडाका रवीन्द्र अर्याल र मेचीनगरकै सुमन न्यौपाने रहेका छन् । उनीहरूमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले बताए । 

यता, जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अझ व्यापक देखिएको छ । अभियानका क्रममा १२० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये ११५ पुरुष र ५ महिला रहेको सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार अनुसार पक्राउ परेकामध्ये १५ जना लागुऔषध प्रयोगकर्तालाई पुनस्र्थापना केन्द्र पठाइएको छ भने सामान्य प्रकृतिका कसुरमा संलग्न ७६ जनालाई सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको छ ।

सुनसरी प्रहरीले लागुऔषध कारोबारमा संलग्न २ जनाविरुद्ध मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि फरार रहेका प्रतिवादीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । २६ जनामाथि थप अनुसन्धान जारी रहेको डीएसपी खड्काले बताए । अभियानका क्रममा २६.५६ ग्राम ब्राउन सुगर र ४४ पिस विभिन्न प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको जानकारी उनले दिए । 

कोशी प्रदेशको तराईका तीन जिल्लामा एकै साथ सञ्चालन गरिएको विशेष अभियानले प्रहरीको सक्रियता एवं कानुन कार्यान्वयनलाई प्रभावकारी सुरक्षा विज्ञहरु बताउँछन् । पछिल्लो समय युवा वर्गमा बढ्दो लागुऔषध दुर्व्यसन, साना समूहगत अपराध र सार्वजनिक असुरक्षाका घटनाले चुनौती थप्दै गएको अवस्थामा यस्तो कारबाही आवश्यक भएको उनीहरुको भनाइ छ । 

तर, यस्ता अप्रेसनले दीर्घकालीन समाधान दिन्छ वा अस्थायी नियन्त्रणमै सीमित रहन्छ भन्ने बहस पनि सँगसँगै उठेको छ । नेपाल प्रहरीका पूर्वडीएसपी रामजी कटवालका अनुसार पक्राउ र कारबाही मात्रले लागुऔषध समस्या समाधान हुँदैन । उनले पुनर्स्थापना, जनचेतना, रोजगारी सिर्जना र सामाजिक पुनः स्थापनाका कार्यक्रम सँगसँगै अघि बढाउनु पर्नेमा जोड दिए । 

पूर्व डीएसपी कटवालका अनुसार प्रहरीले देखाएको समन्वित सक्रियताले तत्कालका लागि सार्वजनिक सुरक्षा सुधार्न महत्वपूर्ण भूमिका खेल्नेछ । यस्ता अभियानलाई निरन्तरता र प्रभावकारिता दिइएमा पूर्वी तराईमा आपराधिक गतिविधि नियन्त्रणतर्फ सकारात्मक परिणाम देखिने अपेक्षा गरिएको उनको भनाइ छ ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.