प्रविधि र सुधारलाई सँगै अघि बढाउने नयाँ ‘मोडेल’: हिरासतमा पुस्तकालय, ड्रोनबाट निगरानी
विराटनगर : प्रविधि र सुधारलाई सँगै अघि बढाउने नयाँ ‘मोडेल’का रुपमा मोरङको लेटाङमा प्रहरीले एकैसाथ सुरु गरेका दुई फरक अभ्यासले स्थानीय तहदेखि सुरक्षा निकायसम्म बहस सुरु गराएको छ।
परम्परागत शैलीभन्दा बाहिर निस्कँदै प्रहरीले निगरानी सुदृढ बनाउन एकातिर ड्रोन प्रविधिको प्रयोग गर्न थालेको छ भने अर्कोतर्फ हिरासतभित्रै पुस्तकालय स्थापना गरेर सुधारमुखी अवधारणालाई अघि सारेको छ। इलाका प्रहरी कार्यालय लेटाङमा शुक्रबार औपचारिक रूपमा ड्रोन प्रयोगमा ल्याइएको हो।
कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले ड्रोनको उद्घाटन गर्दै प्रविधिको प्रयोगले अनुसन्धान, निगरानी र उद्धार कार्यलाई गति दिने बताए। उनका अनुसार दुर्गम भूगोल, वन क्षेत्र र पहुँच कठिन बस्तीमा ड्रोन प्रभावकारी उपकरण बन्न सक्छ। लेटाङ क्षेत्रको भौगोलिक जटिलता प्रहरीका लागि चुनौतीपूर्ण मानिन्छ। यही कारण परम्परागत गस्ती प्रणाली पर्याप्त नभएको अवस्थामा ड्रोन प्रयोगले तत्काल दृश्य सूचना संकलन, हराएका व्यक्तिको खोजी तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख, इन्स्पेक्टर सागर साहका अनुसार अब नियमित गस्ती, ट्राफिक व्यवस्थापन र जोखिमयुक्त क्षेत्रमा निगरानीका लागि ड्रोन प्रयोग गरिनेछ।
यद्यपि, प्रविधिको प्रयोगसँगै गोपनीयता र मानव अधिकारका सवाल पनि उठ्ने भएकाले प्रहरीले कानुनी दायराभित्रै रहेर सञ्चालन गर्ने स्पष्ट पारेको छ। नागरिकको व्यक्तिगत अधिकारमा असर नपर्ने गरी सीमित र उद्देश्यपूर्ण प्रयोग गरिने प्रहरीको भनाइ छ। यससँगै लेटाङ प्रहरीले हिरासतभित्र स्थापना गरेको पुस्तकालय पनि उत्तिकै चासोको विषय बनेको छ। थुनुवालाई नियन्त्रणमा राख्ने दृष्टिकोणभन्दा अघि बढ्दै उनीहरूलाई सुधार र आत्मचिन्तनतर्फ प्रेरित गर्ने प्रयास गरिएको प्रहरीको भनाइ छ।
विभिन्न विधाका पुस्तकहरू राखिएको पुस्तकालयले थुनुवामा सकारात्मक सोच विकास गर्ने विश्वास लिइएको इन्स्पेक्टर साह बताउँछन्। सामाजिक र आर्थिक कारणले अपराधमा संलग्न हुने धेरै व्यक्तिलाई शिक्षा एवं चेतनाले परिवर्तन गर्न सकिने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। यही उद्देश्यले पुस्तकालय सञ्चालनमा ल्याइएको उनको भनाइ छ। यसले हिरासतलाई दण्ड दिने स्थान मात्र नभई सिकाइ र सुधारको अवसरमा रूपान्तरण गर्ने अपेक्षा गरिएको कटवालले बताए।
ड्रोनको प्रयोग र हिरासतमा पुस्तकालयजस्ता अभ्यासलाई आधुनिक प्रहरी सेवाको उदाहरणका रूपमा प्रस्तुत उनले आगामी दिनमा विस्तार गरिने जानकारी दिए। प्रहरीको प्रयासले स्थानीय स्तरको सुरक्षा व्यवस्थापनमा नयाँ आयाम थप्ने भएकाले यस पहललाई सकारात्मक रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस !