कार मर्मतका क्रममा अटो सेन्टरमा आगलागी
विराटनगर : विराटनगर महानगरपालिका–३ मा सञ्चालनमा रहेको एक अटो सर्भिस सेन्टरमा कार मर्मत गर्ने क्रममा अचानक आगलागी भएको छ ।
मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार विनोद शर्माले सञ्चालन गर्दै आएको ‘भूमि अटो सर्भिस सेन्टर’ मा सोमबार दिउँसो करिब २ बजेतिर बिजुलीको तार सर्ट भई आगो लागेको हो ।
मर्मतका लागि राखिएको प्र ३–०१–०२५ च १३८६ नम्बरको कार आगोले जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । को २ च ३७१ नम्बरको अर्को कारमा आंशिक क्षति पुगेको छ । आगो निभाउने क्रममा सर्भिस सेन्टरका सञ्चालक शर्मा सामान्य घाइते भएका छन् ।
उनको दाहिने हात र खुट्टामा आगोले पोलेको छ । घाइते शर्माको विराटनगरस्थित आर्य न्युरो अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर दाहालले बताए । स्थानीयको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले आगलागीको कारण र क्षतिको विस्तृत विवरण अनुसन्धान गरिरहेको जानकारी दाहालले दिए ।
प्रतिक्रिया दिनुहोस !