बलात्कार मुद्दामा १७ वर्ष बढी कैद सजाय तोकिएका दाजुभाइ पक्राउ
विराटनगर : उच्च अदालत विराटनगरले बलात्कार (जबरजस्ती करणी) मुद्दामा दोषी ठहर गर्दै जहनी १७ वर्षभन्दा बढी कैद सजायको फैसला गरेका एउटै घरका दाजुभाइ पक्राउ परेका छन् । लामो समयदेखि फरार रहेका दाजुभाइलाई मोरङको बेलबारीबाट प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–५ का ५७ वर्षीय धनपाल भगत थारु र उनका दाजु भूपाल भगत भनिने भूपाल भगत थारु रहेका छन् । उनीहरु एउटै परिवारका दाजुभाइ रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार आफ्नै घरमा लुकेर बसेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूविरुद्धको मुद्दामा उच्च अदालत विराटनगरले २०७७ फागुन ४ गते जनही १७ वर्ष ५ महिना २१ दिन कैद सजाय हुने फैसला गरेको थियो । तर, सजाय भुक्तान नगरिकन उनीहरु ६ वर्षदेखि फरार रहँदै आएका थिए ।
त्यसअघि जिल्ला अदालत मोरङले दुवै जनालाई सफाइ दिएको थियो । तर, उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै दुवै जनालाई दोषी ठहर गरेर कैद तोकेको हो । सजाय भने भुक्तान नगरिकन भागेका उनीहरु लुकेर बस्दै आएको पाइएको प्रहरीले जनाएको छ । इन्स्पेक्टर दाहालका अनुसार सूचनाको विश्लेषण र स्थानीयस्तरको निगरानीका आधारमा उनीहरूको अवस्थाका बारेमा जानकारी प्राप्त भएपछि पक्राउ गर्न प्रहरी सफल भएको हो ।
दाजुभाइलाई नै इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई अदालतमा बुझाइने प्रहरीले जनाएको छ । प्रहरीले पेस गरेपछि अदालतले कैद भुक्तानका लागि कारागार चलान गर्नेछ । प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिहरूको खोजी अभियानलाई तीव्र बनाएको जानकारी दाहालले दिए । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन नियमित निगरानी र सूचनामा आधारित अपरेसनलाई निरन्तरता दिइने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !