विराटनगर जुट मिल्सको जग्गा खाली गरिँदै, ६ सय परिवारलाई हटाउने तयारी

विराटनगर जुट मिल्सको जग्गा खाली गरिँदै, ६ सय परिवारलाई हटाउने तयारी

विराटनगर : विराटनगरको औद्योगिक इतिहाससँग गहिरो सम्बन्ध बोकेको विराटनगर जुट मिल्सको जग्गा दशकौंदेखि अनधिकृत कब्जा र अव्यवस्थित बसोबासको चपेटामा परेको छ । लामो समयदेखि विवाद र अस्तव्यस्ततामा रहेको जमिनलाई अब खाली गराउने अन्तिम तयारी भइरहेको छ । 

मिल्स प्रशासनले अनधिकृत रुपमा बसोबास गरिरहेका परिवार र भाडा नतिरी व्यापार सञ्चालन गरिरहेका संरचनाहरू एक साताभित्र हटाइने जनाएको छ । विराटनगरको जुट मिल्सको करिब १४ बिघा जग्गा अहिले एक प्रकारको अनौपचारिक बस्ती र व्यापारिक क्षेत्रझैं विकसित भएको छ । ६ सयभन्दा बढी परिवार त्यहाँ लामो समयदेखि बसोबास गर्दै आएका छन् । सडक किनार र मिल्स क्षेत्रभित्रै करिब ३० वटा पसल तथा व्यवसायहरू बिना भाडा सञ्चालन भइरहेको तथ्य सार्वजनिक भएको छ ।
 

मिल्स व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कार्कीका अनुसार अब यो अवस्थालाई लामो समयसम्म नजरअन्दाज गर्न नसकिने निष्कर्षमा पुगेपछि संघीय सरकारको निर्णयअनुसार हटाउने प्रक्रिया अघि बढाइएको हो । अनधिकृत बसोबास र भाडा नतिरेर व्यवसाय सञ्चालन गर्ने सबैलाई एक साताभित्र स्थान खाली गर्न निर्देशन दिइएको उनले बताए । अटेर गरेमा बल प्रयोग गरेर हटाउने तयारी छ । 

मिल्स प्रशासनले चालेको यो कदमलाई जग्गा खाली गर्ने विषय मात्र नभएर दशकौंदेखि थुप्रिएको कानुनी, सामाजिक र प्रशासनिक समस्याको अन्त्यतर्फको प्रयासका रूपमा हेरिएको छ । अध्यक्ष कार्कीका अनुसार वैध रूपमा भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई भने वैकल्पिक व्यवस्था मिलाइनेछ । तर, भाडा नतिर्ने वा अनधिकृत रूपमा बसेकाहरूका हकमा प्रशासनिक र कानुनी प्रक्रिया कडाइका साथ लागू गरिने उनले बताए।

कार्कीका अनुसार बसोबास गरिरहेका व्यक्तिहरूले खाना पकाउने भाँडाकुँडा र लत्ताकपडा जस्ता अत्यावश्यक एवं व्यक्तिगतबाहेक अन्य सामान्य लैजान पाउने छैनन् । बाँकी सबै सम्पत्ति जुट मिल्सकै भएको उनले बताए । स्रोतका अनुसार मिल्सको जग्गा ओगटेर बसोबास गरिरहेका केही व्यक्तिहरूले विराटनगर बजारमा घर निर्माण गरेका छन् । ती घरहरू भाडामा लगाएर आम्दानी समेत लिइरहेको बताइन्छ । 

घर बनाएर भाडा असुल्नेहरुले विराटनगर जुट मिल्सको जग्गा कब्जा गरेर संरचना बनाउँदै वर्षौंदेखि भोगचलन गरिरहेको मिल्स प्रशासनले जनाएको छ । यसरी करोडौं मूल्य बराबरका संरचना बाहिर बनाएर पनि मिल्सभित्र अनधिकृत रूपमा बस्ने प्रवृत्ति बढ्दै गएको कार्कीले बताए । केही व्यक्तिहरूले त मिल्सभित्रै साना उद्योग, गार्मेन्ट फ्याक्ट्रीसम्म सञ्चालन गरेको तथ्य पनि बाहिर आएको छ ।
 

मिल्स प्रशासनका अनुसार कर्मचारी आवासका रूपमा निर्माण गरिएका घरहरू पनि अवकाशपछि खाली नगरिएको समस्या लामो समयदेखि रहँदै आएको छ । प्रशासन प्रमुख श्याम लामाका अनुसार मिल्स बन्द भएपछि धेरै अवकाशप्राप्त कर्मचारीहरू आवास खाली नगरी त्यहीँ बसिरहेका हुन् । पछि बाहिरका व्यक्तिहरू समेत प्रवेश गरेर जग्गा कब्जा गर्दै बस्न थालेको उनले बताए । उनले राजनीतिक हस्तक्षेप र निरन्तर विद्युत आपूर्तिको समस्याका कारण मिल्स लामो समयदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको उल्लेख गर्दै यस्तो अवस्थाले सम्पत्ति संरक्षणमा ठूलो चुनौती सिर्जना गरेको बताए । उनका अनुसार पटक–पटक खुल्ने र बन्द हुने अवस्थाले पनि व्यवस्थापन कमजोर बनाएको छ । 

विराटनगर जुट मिल्स नेपालको औद्योगिक इतिहासमा विशेष स्थान राख्ने उद्योग हो । विक्रम संवत १९९३ मा स्थापना भएको यो उद्योगले मुलुकमा आधुनिक उद्योग विकासको सुरुवातमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । मुलुककै जेठो उद्योग विराटनगर जुट मिल्सले मोरङ–सुनसरी औद्योगिक करिडोरको विकासमा मात्र नभएर देशभर उद्योग स्थापनाको लहर ल्याउनलाई गरेको योगदान उल्लेखनीय रहेको अध्यक्ष कार्कीले बताए । तर, पछिल्ला वर्षहरूमा यो ऐतिहासिक उद्योग निरन्तर संकटमा पर्दै आएको छ । २०७० सालदेखि पूर्ण रूपमा बन्द रहेको मिल्स अहिले खण्डहर अवस्थामा पुगेको छ ।

प्रयोगविहीन संरचनाहरूमा खिया लाग्ने, मेशिनरी उपकरणहरू बिग्रने र चोरीका घटनाहरू बढ्ने जस्ता समस्याले यसको अस्तित्व नै संकटमा परेको देखिन्छ । एक समय देशकै औद्योगिक गौरव मानिएको मिल्स अहिले अव्यवस्थित बस्ती, व्यापारिक गतिविधि र कानुनी विवादको केन्द्र बनेको छ । सरकारी स्वामित्वको जग्गा भए पनि दशकौंदेखि स्पष्ट व्यवस्थापन नहुँदा स्थिति जटिल बनेको हो । अब जग्गा खाली गरेर मिल्स क्षेत्रलाई पुनः व्यवस्थित बनाउँदै औद्योगिक पुनर्जीवनको आधार तयार गर्न लागिएको कार्कीको भनाइ छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.