तिलोत्तमाले खोल्यो आफ्नै फार्मेसी
बुटवल : तिलोत्तमा नगरपालिका रूपन्देहीले आम नागरिकलाई सहुलियत मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ। नगरपालिकाको प्रमुख बजार केन्द्र मणिग्राम चोकमा स्थापना गरिएको 'सुलभ फार्मेसी'को बुधबार नगर प्रमुख रामकृष्ण खाण र नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
स्वास्थ्य सेवालाई सरल र सस्तो बनाउन नगरपालिकाले देशभरमै पहिलोपटक सुलभ फार्मेसी सञ्चालन गरेको दाबी गरेको छ। उक्त फार्मेसीमा औषधि उत्पादक कम्पनीले उल्लेख गरेको मूल्य मा १० देखि २५ प्रतिशतसम्म छुट दिइने र जुनसुकै ठाउँका बिरामीले पनि यो सेवाको लाभ लिन सक्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले प्रतिस्पर्धात्मक मूल्यका आधारमा फार्मेसी सञ्चालन गर्ने कम्पनी छनोट गरेको थियो। जसअनुसार बुटवलस्थित बुट्स मेडिको प्रा.लि. छनोट भई सञ्चालनका लागि सम्झौता गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालका अनुसार बुट्ससँग पाँच वर्षका लागि सम्झौता गरिएको छ र सेवा सन्तोषजनक भएमा अवधि थप गर्न सकिनेछ।
फार्मेसी सञ्चालनका लागि नगरपालिकाले वार्षिक कुल २ लाख ५० हजार रुपैयाँ घरभाडा उपलब्ध गराउनेछ। त्यसबाहेक औषधि लगायतका अन्य सबै प्राविधिक र व्यवस्थापकीय खर्च सञ्चालक कम्पनी आफैँले व्यहोर्ने भुसालले जानकारी दिए। बजारका अन्य फार्मेसीहरूले सामान्यतया १० प्रतिशत मात्र छुट दिने गरेकोमा यहाँ नागरिकले बढी सहुलियत पाउनेछन्।
आर्थिक अवस्था कमजोर भएका नागरिकलाई यो फार्मेसीबाट ठुलो राहत मिल्ने विश्वास नगर प्रमुख रामकृष्ण खाणले व्यक्त गरे। उनका अनुसार आगामी आर्थिक वर्षदेखि सुलभ प्याथोलोजी सेवासमेत सञ्चालन गर्ने तयारी भइरहेको छ। 'जबसम्म नागरिकलाई स्वस्थ राख्न सकिँदैन, भौतिक पूर्वाधारको विकासले मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिँदैन,' खाणले भने, 'प्याथोलोजी सेवा सुरु भएपछि विशेषज्ञ चिकित्सकहरूले पनि यहीँबाट सहुलियतमा सेवा दिनुहुनेछ।'
प्रतिक्रिया दिनुहोस !