विश्वकै ध्यान खिचेका वालेन्द्र
काठमाडौं : नेपाली बृहत् शब्दकोश भन्छ, ‘जवानीले नछाडेको र बुढ्यौलीले नछोएको व्यक्ति युवा हो। युवा भन्नाले उमेरको संख्या मात्र होइन। यो त सोच्ने तरिका हो। समस्या समाधान गर्ने हुटहुटी हो। यही हुटहुटी बोकेका बालेन्द्र शाह अहिले मुलुकका कार्यकारी प्रमुख छन्। जो गत वैशाख १४ गते उनी ३७औं वर्षमा प्रवेश गरेका छन्।
विरासत ढलाउने ‘टाइम हिरो’
वंशवादी र विरासतको राजनीति विस्थापित गर्ने उदाउँदो नेता हुन, वालेन्द्र। उनी विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। जहाँ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङ जस्ता हस्तीहरू समावेश छन्। प्रतिष्ठित टाइम म्यागेजिनले उनलाई सन् २०२६ को उदीयमान शक्तिका रूपमा चित्रण गरेको छ। यो उपलब्धि हासिल गर्ने उनी पहिलो नेपाली हुन्। उनले पुरानो छविलाई ओंझेल पार्दै दूरदर्शी युवा नेताका रूपमा विश्वकै चासोमा पर्न सफल भएका छन्। उनको पृष्ठभूमि र्यापर, संगीत निर्माता, गीत लेखक, निर्देशक तथा इन्जिनियरिङ हो।
वालेन्द्रको जन्म नरदेवीको रैथाने मधेसी परिवारमा भएको हो। पुख्र्योली भने मधेस हो। उनले भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरे। २०७२ को भूकम्पमा उनी उद्धार र नक्सांकनमा सक्रिय थिए। सानैदेखि संगीत र कवितामा उनको रुचि थियो। २३ वर्षमा सडक बालक गीत गाउने ठिटो पछि राजनीतिमा होमिएपछि चर्चाको शिखरमा पुगेका हुन्। २०७९ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र रूपमा कार्यकारी प्रमुखमा निर्वाचित भई नयाँ तरंग ल्याए। युवापुस्तालाई राजनीतिमा अग्रसर हुन प्रेरित गर्ने प्रतीक बने।
सिंहदरबारमा नयाँ ऊर्जा
थिति बसाल्ने हुटहुटी लिएर वालेन्द्र सिंहदरबार छिरे। उनीसँगै एउटा नयाँ ऊर्जा र आशा पनि भित्रियो। अहिले झन्डै आधा जनसंख्या रहेको युवा पुस्ताले उनमा आफ्नै प्रतिविम्ब देख्छ। उनले दशकौंदेखिको सुस्त राजनीतिक शैली बदलिदिए। परम्परागत सोचमाथि धावा बोले। आफ्नो यात्रा स्टन्टबाजी नभई सुशासनको यात्रा भएको पुष्टि हुने गरी गलत काम गर्ने दुई मन्त्रीको राजीनामा एक महिनाभित्रै स्वीकृत गरे। सुशासनको संकेत दिए।
प्रधानमन्त्री निवास बालुवाटारबाट चल्ने शासन अहिले सिंहदरबार सरेको छ। बिहानै सिंहदरबार प्रवेश गरेर उनी साँझ अबेरसम्मै काममा खटिएका देखिन्छन्। विदेशी दूतहरूसँगको सामूहिक भेटले उनको कूटनीतिक सुझबुझ देखायो। यसले राष्ट्रको गरिमा बढाएको छ। मन्त्रिपरिषद् गठन लगत्तै १०० बुँदे कार्यसूची ल्याएको सरकारले राष्ट्रिय प्रतिबद्धताको मस्यौदा बनाएको छ।
चुनावदेखि शपथसम्म
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशपछि जनकपुरको उद्घोष सभामा उनले भनेका थिए, ‘म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछु। मलाई काम गर्न अवसर दिनुहुन्छ ? काठमाडौं नगरवासीले अवसर दिए, काम गरेर देखाएँ। तपाईंहरू दिनुहुन्छ ?’
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा वालेन्द्रलाई झापा–५का जनताले विश्वास गरे। उनको पार्टी रास्वपाले झन्डै दुईतिहाइ मत पायो। गत चैत १३ गते शीतल निवासमा कान्छो प्रधानमन्त्री (प्रजातन्त्र पुनस्र्थापनायताको कान्छो प्रधानमन्त्री) शपथ ग्रहण गरेर इतिहास रचे। भदौ २३ गतेको जेन–जी आन्दोलन भ्रष्टाचारविरुद्ध थियो। वालेन्द्र नेतृत्वको सरकारले त्यही आन्दोलनको मर्म बोकेको छ। भ्रष्टाचार विरुद्धका फाइलहरूको अनुसन्धान अघि बढेको छ। कतिपयलाई अनुसन्धानका सिलसिलामा प्रहरी हिरासतमा राखिएको छ।
समृद्धि सपना
आफ्नो कार्यकालमा ‘हुँदैन’ भन्ने शब्दलाई कसरी हुन्छ ? बदल्ने यात्रा बनेको छ। युवा शक्तिको सबैभन्दा ठूलो विशेषता भनेको जोखिम मोल्ने क्षमता र प्रविधिसँगको सामीप्य हो। प्रधानमन्त्री शाहले फाइल अड्काउने कर्मचारीतन्त्रलाई कारबाही गर्ने जनाएका छन्। अब सरकारी सेवा लिन घन्टौं लाइन बस्नुपर्दैन। मोबाइलको एक क्लिकमा सिंहदरबार नागरिकको दैलोमा पुगेको छ। सिभिल र स्ट्रक्चरल इञ्जिनियरिङ पृष्ठभूमिका शाहको काँधमा छ, मुलुक निर्माण र भावि पुस्ताको भविष्य।
भ्रष्टाचारविरुद्ध जेन–जी आन्दोलन आन्दोलनको पृष्ठभूमिमा बनेको सरकारले त्यसको मर्मलाई आत्मसात् गर्नुपर्छ। त्यसको द्योतक पनि हो, नेपालस्थित मित्रराष्ट्रहरूका दूतहरूसँग गरेको सामूहिक भेटघाट र कूटनीतिक सम्बन्धको आयाम। उनको सुझबुझपूर्ण निर्णय र कार्यशैलीले राष्ट्रको गरिमा बढाएको छ।
नेपालको राष्ट्रिय युवा नीतिमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार १६ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या मुलुकमा ४२ दशमलव ५६ प्रतिशत छ।
यही युवावयको कर्मशीलताले नकारात्मक भाष्य चिर्दैछ। भावि पुस्ताको भविष्य बनाउँदै छ। आजको नेपाल सम्भावनाको देशबाट सफल देशतर्फ उन्मुख गराउन युवा शक्तिकै हात चाहिन्छ। त्यस्तै आआफ्नो क्षेत्रबाट मुलुकलाई योगदान दिइरहेका युवाहरूको लगन र मिहिनेतले नेपालाई समृद्ध बनाउन योगदान दिएको छ। राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य,कला, खेलकुदलगायतका विविध क्षेत्रमा क्रियाशील युवाहरू स्वयंलाई अद्यावधिक गरिरहेका छन्।
बदलँदो समयसँग सामञ्जस्य मिलाउँदै अघि बढिरहेका युवाहरू प्रेरणाका पुञ्ज हुन्। मुलुक बनाउन जीवनका आरोह–अवरोह पार गर्दै अघि बढ्न तत्पर युवाहरूको सशक्त हस्तक्षेप चाहिएको छ। अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकले रजत जयन्तिको अवसरमा युवाहहरूको यहीं कर्मलाई उजिल्याउने प्रयास गरेको हो।
प्रतिक्रिया दिनुहोस !