बगरको ‘महल’ मा डोजरको त्रास
काठमाडौं : जाजरकोटकी उमा घर्तीले गाउँ छाड्दा देश माओवादी द्वन्द्वको उत्कर्षमा थियो। गाउँमा गोली, भिडन्त र मृत्युको त्रास थियो। त्यही त्रासबाट बच्न उनी परिवारसहित काठमाडौं आइपुगिन्। राजधानीमा न चिनजान, न सहारा। भौतारिँदै बल्खु खोला किनारको बगरमा सानो छाप्रो ठड्याइन्। वर्षौंको संघर्षपछि त्यही अस्थायी छाप्रो नै उनको ‘महल’ बनेको थियो। तर, बिहीबार साँझ बल्खु सुकुम्बासी टोल पुग्दा उनी फेरि सामान बाहिर निकाल्दै थिइन्।
शुक्रबार बिहानदेखि अवैध संरचना हटाउने सरकारी सूचनाले उनको संसार फेरि हल्लिएको छ। ‘हुनेहरूले त आफ्नै जग्गामा सामान सारिरहेका छन्, हाम्रो केही छैन। कहाँ जाने ?’ उनको आवाजमा डरभन्दा धेरै असहायता मिसिएको छ। सर्लाहीका सुकुम मियाँको कथा पनि उस्तै छ। तीन दशकभन्दा बढी यही टोलमा बिताएका उनी कुलेश्वर फलफूल मण्डीको आँगनमा उभिएर आफ्नै घर भत्किँदै गरेको दृश्य हेर्दै थिए। घरभित्र पसेर फेरि बाहिर निस्कने, धोती सम्हाल्दै टोलाउने उनको हाउभाउले सबै कुरा बोलिरहेको थियो। ‘अब कहाँ जाने ?’ भन्ने प्रश्नमा उनको छोटो जवाफ थियो— ‘भगवान् भरोसा।’
धादिङकी सरिता नगरकोटी, चितवनकी शान्ति श्रेष्ठ र फर्पिङकी मनकला तामाङ पनि यही बस्तीमा सामान सम्हाल्न व्यस्त भेटिए। कोही छानामाथि चढेर जस्तापाता उक्काइरहेका थिए, कोही फलाम र काठ छुट्याइरहेका। सरिताको परिवार वर्षौंदेखि यहाँ पानीको व्यापार गरेर गुजारा चलाउँदै आएको थियो।
- माओवादी द्वन्द्वको बेला ज्यान जोगाउन गाउँ छाडेर काठमाडौंको बगरमा आश्रय लिएका सुकुम्बासीहरू वर्षौंको संघर्षपछि पुनः विस्थापित हुने अवस्थामा पुगेका छन्।
- महानगरले सुकुम्बासी बस्ती खाली गराउने सूचना जारी गरेपछि बल्खु, वंशीघाट र शंखमूल क्षेत्रका सयौं परिवार रोजीरोटी र बासको खोजीमा भौतारिन थालेका छन्।
अब घरसँगै रोजीरोटी पनि अनिश्चित बनेको छ। ‘एक कोठाको भाडा नै ९ हजार भनेका छन्,’ शान्ति भन्छिन्। सरकारले होल्डिङ सेन्टरमा राख्ने प्रस्तावबारे सोध्दा मनकलाको चिन्ता अर्कै छ— ‘त्यहाँ जानै दिँदैनन् रे, गाउँ पठाउँछन् रे।’ शुक्रबार बिहानैदेखि बल्खु, वंशीघाट, शंखमूल, बुद्धनगर र नयाँ बसपार्क आसपासका सुकुम्बासी बस्तीमा त्रास फैलिएको थियो। करिब २०० भन्दा बढी घरधुरी सामान सार्न, घर आफैं भत्काउन र नयाँ कोठा खोज्न व्यस्त देखिन्थे। कतै बच्चाहरू साइकलमा सामान बोकेर हिँडिरहेका थिए, कतै वृद्धहरू पुराना काठ र जस्तापाता गाडीमा लोड गरिरहेका थिए। बस्ती वरिपरि ट्रक, पिकअप र साना गाडीहरूको ओहोरदोहोर निरन्तर थियो। हुनेहरूले आफ्नै जग्गातिर सामान पठाइरहेका थिए, नहुनेहरूले गाउँ फर्काउने तयारी गरेका थिए।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार उपत्यकाभर बाँकी रहेका सबै सुकुम्बासी बस्ती शुक्रबार खाली गरिनेछ। उनले वास्तविक भूमिहीनलाई सरकारले संरक्षण गर्ने र आवश्यक परे स्थानान्तरणको व्यवस्था गर्ने बताए। हालसम्म करिब एक हजार परिवारले नाम दर्ता गराएका छन् भने १५० परिवारका ७–८ सय जनाले होटल तथा होल्डिङ सेल्टरमा आश्रय लिइरहेका छन्।
तर, बस्तीका बासिन्दाका लागि अहिले सबैभन्दा ठूलो प्रश्न एउटै छ— ‘घर भत्किएपछि जीवन कहाँबाट फेरि सुरु गर्ने ?’
प्रतिक्रिया दिनुहोस !