सुरु भयो साकेला: ढोल झ्याम्टाको तालले गुन्जयमान बने किराँत बस्ती

सुरु भयो साकेला: ढोल झ्याम्टाको तालले गुन्जयमान बने किराँत बस्ती
सुन्नुहोस्

सुनसरी : पूर्वी नेपालका पहाडी तथा किराँत राई बस्तीहरू यतिबेला पुनः जीवन्त बनेका छन्। ‘सै ढोले सै’ को आवाजसँगै उभौली पर्वको अवसरमा साकेलाको सुरुवात भएसँगै गाउँ–टोलदेखि सहरसम्म ढोल–झ्याम्टाको गुञ्जन फैलिएको छ। प्रकृतिसँगको सहअस्तित्व, कृषि चक्र र सामुदायिक एकताको प्रतीकका रूपमा मनाइने यो पर्वले किराँत सभ्यताको मौलिक पहिचान उजागर गरिरहेको छ।

उभौली, अर्थात् उँभो उक्लिने समय-जब मानिस र पशुचौपाया लेक–पाखातिर सर्ने गर्छन्-त्यही जीवनचक्रसँग गाँसिएको साकेला पर्वले प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा बोकेको छ। किराँत राई समुदायले यस अवसरमा आफ्ना कुलदेवता तथा प्रकृतिका शक्तिहरूलाई स्मरण गर्दै साकेला थानमा पूजा–अर्चना गरी शुक्रबारदेखि साकेला पर्वको विधिवत् थालनी गरेका छन्।

किराँत राई यायोख्याका केन्द्रीय उपाध्यक्ष देवान राईका अनुसार साकेला केवल नाच–गानको पर्व होइन, यो पुर्खाहरूको ज्ञान, कृषि संस्कार र सामाजिक अनुशासनको समग्र अभिव्यक्ति हो। ‘हामी साकेला थानमा पूजा गरेर प्रकृतिसँग संवाद गर्छौं। यही संवादले वर्षभरिको खेतीपाती, मौसम र सामुदायिक सहकार्यको मार्गदर्शन गर्छ,’ उनले भने। उनका अनुसार अबको एक महिना किराँत बस्तीहरू साकेलाको रौनकले भरिने छन्।

सुनसरीमा किराँत राई यायोख्या जिल्ला कार्यसमितिले धरानको विजयपुर दरबार क्षेत्रसहित विभिन्न साकेला थानहरूमा पूजा–अर्चना गर्दै पर्वको सुरुवात गरेको छ। जिल्ला अध्यक्ष राजेन्द्र राईले परम्परागत विधि, बाजागाजा र सामूहिक उपस्थितिमा साकेला प्रारम्भ गरिएको जानकारी दिए। ‘यो केवल सांस्कृतिक कार्यक्रम होइन, हाम्रो अस्तित्वसँग जोडिएको जीवनपद्धति हो,’ उनले भने, ‘हामीले नयाँ पुस्तालाई यसको मर्म बुझाउँदै अघि बढ्नुपर्छ।’

पूर्वी नेपालका सुनसरी, उदयपुर, मोरङ, खोटाङ, भोजपुर, इलाम, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, ताप्लेजुङ र संखुवासभालगायतका जिल्लाहरूमा साकेलाको लहर फैलिएको छ। मुख्य सहरहरू धरान, गाईघाट, दमक, इटहरी, पथरी, धनकुटा, इलाम, दिक्तेल, भोजपुर, बेलटार बजारका गाउँका चौतारादेखि सहरका खुला मैदानसम्म राई समुदाय गोलाकार भएर ‘सिली’ नाच प्रस्तुत गर्छन्। सिली नाचमा कृषि कार्य, चराचुरुङ्गीको चाल, पानी–हावाको लय र मानव जीवनका विविध पक्षहरूको प्रतीकात्मक प्रस्तुति पाइने धरान–१५ का मणि चाम्लिङ राईले बताए।

साकेलाको अर्को विशेषता भनेको सामूहिक भेला र पारिवारिक पुनर्मिलन हो। देश–विदेशमा रहेका आफन्तहरू घर फर्किने, परिवारसँग भेला हुने र परम्परागत परिकार-राँगा, सुँगुर, कुखुराको मासु-साझा गर्ने चलनले सामाजिक सम्बन्ध अझ प्रगाढ बनाउँछ। यो पर्वले केवल सांस्कृतिक पहिचान मात्र होइन, भावनात्मक एकता पनि सुदृढ बनाउने काम गर्छ।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई साकेलालाई किराँत सभ्यताको जीवित विद्यालयका रूपमा व्याख्या गर्छन्। ‘साकेला हाम्रो इतिहास, हाम्रो दर्शन र हाम्रो जीवनशैलीको समष्टि हो,’ उनले भने, ‘यसले हामीलाई प्रकृतिसँग कसरी सन्तुलनमा बस्ने, समुदायमा कसरी सहकार्य गर्ने र पुर्खाबाट प्राप्त ज्ञानलाई कसरी जोगाउने भन्ने सिकाउँछ।’ अध्यक्ष राईले स्थानीय तहले पनि साकेला संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल गरिरहेको बताए।

‘हामीले विद्यालय तहदेखि नै स्थानीय संस्कृति समेट्ने प्रयास गरिरहेका छौं,’ अध्यक्ष राईले थपे, ‘साकेला जस्ता पर्वले नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने काम गर्छन्। पर्यटन प्रवर्द्धनका दृष्टिले पनि यो महत्वपूर्ण अवसर हो।’ उनका अनुसार साकेलालाई व्यवस्थित, सुरक्षित र समावेशी बनाउँदै स्थानीय अर्थतन्त्रसँग जोड्ने योजना अघि बढाइएको छ।

साकेला गाउँपालिका खोटाङका अध्यक्ष रवि प्रकाश राईका अनुसार साकेला पर्व हजारौं वर्ष पुरानो परम्परा हो।  जसले किराँत समुदायको उत्पत्ति, बसाइँसराइ र प्रकृतिसँगको सम्बन्धलाई निरन्तरता दिएको छ। यस पर्वमा गरिने प्रत्येक विधि-पूजा, सिली नाच, बाजागाजा-सबैको आफ्नै सांकेतिक अर्थ हुन्छ। उदाहरणका लागि, गोलाकार घेरामा नाच्नु सामूहिकता र समानताको प्रतीक मानिन्छ भने ढोल–झ्याम्टाको लयले प्रकृतिको चक्रलाई प्रतिनिधित्व गर्ने उनी बताउँछन्। पछिल्ला वर्षहरूमा साकेला पर्व सहरहरूमा पनि व्यापक रूपमा मनाउन थालिएको छ। 

विदेशमा रहेका नेपाली समुदायले समेत साकेला आयोजना गर्दै आफ्नो पहिचान जोगाउने प्रयास गरिरहेका छन्। यसले किराँत सभ्यताको विश्वव्यापी पहिचान विस्तार गर्न सहयोग पुगेको छ। तर, आधुनिकताको प्रभावसँगै परम्परागत मूल्यहरू कमजोर हुने चिन्ता पनि व्यक्त हुन थालेको छ। युवा पुस्तामा बढ्दो प्रविधि मोह र व्यस्त जीवनशैलीले यस्ता पर्वप्रति चासो घट्न सक्ने जोखिम रहेको धरान–१३ का रबि राई बताउँछन्। यसप्रति सचेत रहँदै समुदायले साकेलालाई समयानुकूल ढंगले प्रस्तुत गर्दै यसको मौलिकता जोगाउनुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राई भन्छन्-साकेला केवल एक दिनको उत्सव होइन, यो जीवन जिउने तरिका हो। यसले प्रकृति, समाज र संस्कृति बीचको सन्तुलन कायम राख्न सिकाउँछ। त्यसैले, यसको संरक्षण केवल किराँत समुदायको मात्र होइन, सम्पूर्ण नेपाली समाजको साझा जिम्मेवारी हो। धरानसहित पूर्वी नेपालका विभिन्न स्थानमा अहिले साकेलाको उत्साह चरममा पुगेको छ। साँझ पर्नासाथ ढोल–झ्याम्टाको तालमा युवादेखि वृद्धसम्म नाच्न थाल्छन्। दर्शकहरूको भीड, रंगीन पहिरन र उत्साहजनक वातावरणले गाउँ–सहर सबैलाई एकै लयमा बाँधेको देखिन्छ।

साकेला उभौली केवल सांस्कृतिक पर्व नभई प्रकृतिप्रति कृतज्ञता, सामूहिकता र पहिचानको उत्सव हो। यसले किराँत सभ्यताको गौरवलाई पुनर्जीवित गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने सेतुको काम गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाअध्यक्ष दिनेश राईले बताए। ढोल–झ्याम्टाको लयसँगै गुञ्जिएको ‘सै ढोले सै’ केवल नारा होइन-यो हजारौं वर्ष पुरानो सभ्यताको धड्कन हो, जसले आज पनि उस्तै जोशका साथ जीवनलाई उत्सवमा रूपान्तरण गरिरहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.