विस्थापनले लिँदैछ सुकुम्बासीको ज्यान

विस्थापनले लिँदैछ सुकुम्बासीको ज्यान
थापाथलीस्थित बागमती नदीकिनारको सुकुम्बासी बस्ती हटाउने क्रममा बेहोस महिलालाई अस्पताल लैजान सहयोग गर्दै प्रहरी । तस्बिर : नेपाल प्रहरीि
सुन्नुहोस्

काठमाडौं : सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार एक सूचना जारी गर्दै अब लगत संकलन नगरी र प्रमाणीकरण नगरी सुकुम्बासी बस्ती नभत्काउने निर्णय भएको बताएका थिए। तर, शुक्रबार बिहान बल्खुको तरकारी बजार छेउमा रहेको सुकुम्बासी बस्ती पुग्दा भने त्यहाँको वातावरण पूरै तनावग्रस्त देखिन्थ्यो। 

महानगरको डोजर सखारै बस्तीमा पसेको थियो। राम्रोसँग उठ्न नपाएका सुकुम्बासीहरू बल्खु पुलमा उभिएर आफ्नो घर–टहरो भत्काएको हेर्दै थिए। बस्तीमा महानगरका आधा दर्जन डोजर नाचिरहेका थिए। डोजरसँगै त्यहाँ आश्रित सयौं परिवार बेघर भइरहेका थिए। वर्षौं लगाएर टालेको टहरो र जोडेको केही सम्पत्ति केही सेकेन्डमै भग्नावशेष बन्दै थियो। उनीहरूको छत उदांगिएको थियो। 

छतसँगै उनीहरूको पनि उठिबास भएको थियो। महानगरको डोजरले बस्तीमा रहेको बुद्ध विहार, चर्च र मन्दिर पनि भत्काएको थियो। सुकुम्बासी बस्ती भत्काउने क्रममा धार्मिक आस्था बोक्ने मन्दिर, विहार र चर्चमा पनि डोजर लगाएपछि सरकारको विरोध भइरहेको छ।

बल्खुस्थित बागमती नदीकिनारमा आश्रय लिएका ६१ वर्षीय इन्द्रबहादुर राई शुक्रबार साढे तीन बजे बागमती नदीमा मृत भेटिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार हलेसी तुवाचुङ नगरपालिका–११, खोटाङ घर भई हाल बल्खु सुकुम्बासी बस्तीमा बस्ने राई नदीमा मृत फेला परेका हुन्। उनी बल्खु तरकारी बजारमा भारी बोक्ने काम गर्ने गरेको स्थानीयले जानकारी दिए।

स्थानीय प्रज्वल लिम्बूका अनुसार उनी आफ्नो घरमा डोजर चलाएपछि विरक्तिएका थिए। लिम्बूले भने, ‘उनी जागरण टोलकै हुन्।’ मृतककी श्रीमतीले पनि घरमा डोजर चलाएपछि उनी निराश भएर हिँडेको बताइन्। राईले ‘घर भत्केको हेर्नै सक्दिनँ’ भन्दै बिहानै विरक्तिएर हिँडेका थिए। मनोहरा सुकुम्बासी बस्तीका एक किशोरले पनि सरकारले घर भत्काउने सूचना दिएपछि विरक्तिएर आत्महत्या गरेका थिए।

अव्यवस्थित बस्ती हटाउने क्रममा सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट, शंखमूललगायतका क्षेत्रमा डोजर चलाएको थियो। बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना दिएर बस्ती खाली गराउन भनेको थियो। उक्त सूचनापछि धेरैले आफैं घरटहरा खाली गर्न थालेका थिए। 

गरिब, भूमिहीन र निम्नवर्गीय नागरिक भने थातथलो छाडेर जान मानिरहेका थिएनन्। बाक्लो सुरक्षा घेराबीच डोजर चलाएर बस्तीहरू भत्काउन थालिएको थियो। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलगायत खटिएका थिए। बाक्लो सुरक्षा घेरामा डोजरले उपत्यकाका नदीकिनारका बस्तीहरू भत्काएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.