ममता बनर्जीले सत्ता गुमाउनुका यी हुन् सम्भावित पाँच मुख्य कारण
भारत : पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) पहिलो पटक सत्तामा आउन लागेको छ । उसले दुई–तिहाइभन्दा बढी बहुमत प्राप्त गरेको छ । बीजेपीले २०६ सिट जित्दा तृणमूल कांग्रेस (टीएमसी) मात्र ८० सिटमा सीमित भएको छ ।
मुख्यमन्त्री ममता बनर्जी आफैं आफ्नो भवानीपुर सिटबाट बीजेपी नेता शुभेंदु अधिकारीसँग १५ हजार बढी मतले पराजित भइन् । मतगणनाका क्रममा उनले बीजेपीमाथि ‘भोट लुट’ को आरोप समेत लगाएकी छिन् । उनका अनुसार बीजेपीको जित ‘अनैतिक’ थियो र निर्वाचन आयोगले प्रधानमन्त्री र गृहमन्त्रीसँग मिलेर काम गरेको आरोप लगाइन् ।
लगातार १५ वर्ष शासन गरेको टीएमसीको यी हुन् पराजयका सम्भावित पाँच कारण :
महिला सुरक्षाको मुद्दा
महिला मतदाताहरू लामो समयसम्म टीएमसीको बलियो आधार थिए । कन्याश्री, लक्ष्मीर भण्डार जस्ता योजनाले लोकप्रियता बढाएको थियो । तर यस पटक महिला सुरक्षासम्बन्धी चिन्ताले समर्थन घटेको देखियो । आरजी कर घटना जस्ता मुद्दाहरूले मतदातामा असुरक्षाको भावना बढाएको थियो । धेरै महिलाहरूले राति बाहिर हिँड्दा असुरक्षित महसुस गरेको बताएका थिए ।
एसआईआर (मतदाता सूची पुनः परीक्षण) प्रभाव
मतदाता सूची पुनः परीक्षणका क्रममा ९० लाखभन्दा बढी नाम हटाइ ए। यसले टीएमसीलाई सबैभन्दा बढी असर गरेको देखिन्छ । विश्लेषक योगेन्द्र यादवका अनुसार, यदि हटाइएका मतदाताहरूले मतदान गर्न पाएको भए परिणाम फरक हुन सक्थ्यो ।
प्रशासनिक असफलता
भ्रष्टाचार, ‘कट मनी’, सिण्डिकेट संस्कृति र कुप्रशासनका आरोपहरू लामो समयदेखि लाग्दै आएका थिए । यसअघि यी मुद्दाहरूलाई सामाजिक योजनाहरूले छायामा पारे पनि यस पटक ती आरोपहरूले ठूलो असर पारे ।
हिन्दू मतहरूको ध्रुवीकरण
राज्यमा मुस्लिम मतदाताहरूको ठूलो हिस्सा टीएमसीसँग रहँदै आएको थियो । तर यस पटक हिन्दू मतदाताहरूको ध्रुवीकरण बीजेपीतर्फ भयो । विश्लेषकहरूका अनुसार ग्रामीण क्षेत्रमा हिन्दू मत एकजुट भएर बीजेपीतर्फ गएको देखियो ।
केन्द्रीय सुरक्षा बलको ठूलो तैनाथी
चुनावमा २.४ लाखभन्दा बढी केन्द्रीय सुरक्षाकर्मी तैनाथ गरिए, जुन अभूतपूर्व थियो । यसले चुनावलाई शान्तिपूर्ण बनायो र मतदाताले बिना डर मतदान गर्न सके । तर टीएमसीले यसलाई आफ्नो विरुद्ध प्रयोग गरिएको आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस !