रौतहटमा पनि घरमै पुग्ने भयो राहदानी, के-के छन् सर्त
रौतहट : रौतहटवासीले राहदानी (पासपोर्ट) लिनका लागि पटक-पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। बिहीबारदेखि राहदानीका लागि आवेदन दिने सेवाग्राहीले आफ्नो पासपोर्ट जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने वा घरमै प्राप्त गर्ने भन्ने विकल्प रोज्न पाउने व्यवस्था लागू गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।
अब सेवाग्राहीले घरमै पासपोर्ट बुझ्न चाहेमा आवेदन दिने समयमै ५५ रुपैयाँ बराबरको हुलाक टिकट खरिद गरी आवश्यक कागजातसँगै बुझाउनुपर्ने जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवले जानकारी दिए। त्यसपछि पासपोर्ट जिल्लामा प्राप्त हुनेबित्तिकै हुलाक सेवामार्फत सम्बन्धित व्यक्तिको घरदैलोमै पुर्याइने यादवले बताए।
यस व्यवस्थाले सेवाग्राहीलाई सहजता हुनुका साथै समय र खर्चको समेत बचत हुने भएको छ। साथै, हुलाक कार्यालयको सेवा तथा भूमिकालाई पनि थप प्रभावकारी बनाउने विश्वास लिइएको कार्यालय प्रमुख यादवले बताए। यसअघि घन्टौं लाइन बस्नुपर्नेदेखि टाढाबाट आउने सेवाग्राहीले दोहोरो झन्झट खेप्दै आउनु परेको थियो।
प्रतिक्रिया दिनुहोस !