होर्मुजमा अमेरिका इरानबीचको द्वन्द्वले समुन्द्री कामदार जहाजमै अलपत्र

होर्मुजमा अमेरिका इरानबीचको द्वन्द्वले समुन्द्री कामदार जहाजमै अलपत्र
सुन्नुहोस्

अमेरिका : अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्यमा बढ्दो द्वन्द्वका कारण हजारौं समुद्री कामदार अलपत्र परेका छन् । इरानी बन्दरगाहमा करिब १० हप्तादेखि फसेका भारतीय समुद्री कामदार अनिश अनायासै इरान युद्धका प्रत्यक्ष साक्षी बनेका छन् । फेब्रुअरी २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अपरेशन एपिक फ्युरी’ सुरु गर्नुभन्दा केही दिनअघि अनिश एउटा मालवाहक जहाजमार्फत शत्त अल–अरब जलमार्ग पुगेका थिए । त्यसयता उनी जहाजमै फसेका छन् ।

‘हामीले यहाँको सम्पूर्ण अवस्था भोगेका छौं, युद्ध, मिसाइल आक्रमण सबै’, आफ्नो पहिचान गोप्य राख्ने शर्तमा कुरा गरेका अनिशले भने । ‘हाम्रो मानसिक अवस्था निकै विचलित भएको छ ।’ अनिशका अनुसार केही भारतीय समुद्री कामदारहरू इरानको ४४ किलोमिटर लामो आर्मेनियासँगको स्थल सीमाबाट घर फर्किन सफल भएका छन् । तर धेरै अझै पनि तलब पाउने प्रतीक्षामा रहेका कारण त्यहीँ रोकिएका छन् ।

‘कतिपय भारतीय एजेन्टहरूको कारण फसेका छन्; उनीहरूले तलब पाएका छैनन्’, उनले भने । यी एजेन्टहरूले समुद्री कामदार भर्ती गर्ने, तलब व्यवस्थापन गर्ने र अन्य कर्मचारीसम्बन्धी काम गर्ने गर्छन् । ‘कतिपयलाई इरानी एजेन्टहरूले आर्मेनिया पुग्न आवश्यक डलर नदिने भन्दै रोकेका छन्।’

अनिशले आफू आलु, प्याज, गोलभेंडा र रोटी खाएर गुजारा गरिरहेको बताए । तर अन्य जहाजहरूमा खाना र पानी सकिन थालेको खबर उनले सुनेका छन् ।

इरानले अमेरिका र इजरायलको आक्रमणको प्रतिशोधस्वरूप होर्मुज जलडमरूमध्यलाई प्रभावकारी रूपमा बन्द गरेपछि करिब २०,००० समुद्री कामदार फसेको अनुमान गरिएको छ । युद्धअघि यो जलडमरूमध्य विश्वकै अत्यन्त महत्वपूर्ण समुद्री मार्गमध्ये एक थियो, जहाँबाट विश्वको करिब पाँचौं भाग तेल तथा ग्यास आपूर्ति र एकतिहाइ समुन्द्री मल व्यापार हुन्थ्यो ।

अप्रिल ७ मा वाशिंगटन र तेहरानबीच कमजोर युद्धविराम घोषणा भए पनि जलमार्ग वरपर निरन्तर भइरहेका आक्रमणका कारण समुद्री यातायात अझै ठप्प छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले बिहीबार तीन अमेरिकी युद्धपोत होर्मुज पार गर्ने क्रममा मिसाइल, ड्रोन र साना डुङ्गाबाट आक्रमणमा परेको र ती खतरा ‘नष्ट गरिएको’ जनाएको छ ।

इरानको सेनाले भने अमेरिकी फौजले आफ्नो क्षेत्रीय जलक्षेत्रमा रहेको तेल ट्यांकरलाई निशाना बनाएपछि जवाफी कारबाही गरेको दाबी गरेको छ । तेहरानले अमेरिकामाथि किश्म टापुसहित नागरिक क्षेत्रहरूमा हवाई आक्रमण गरी युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाएको छ । युद्धभर इरानले शुल्क लिएर आफ्ना जलक्षेत्रमार्फत जहाजलाई सुरक्षित मार्ग दिने प्रस्ताव गरेको थियो, तर बीचबीचमा व्यावसायिक जहाजहरूमाथि गोलीबारी जारी राखेको थियो ।

त्यसैगरी, अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरू नाकाबन्दी गर्दै तेहरानको तेल निर्यात र विदेशी मुद्रा पहुँच अवरुद्ध गर्ने प्रयास गरेको छ । बेलायतस्थित समुद्री गुप्तचर कम्पनी लोयड्स लिस्टका अनुसार सोमबारसम्म कम्तीमा चार व्यावसायिक जहाजमाथि आक्रमण भएको थियो । फ्रान्सेली कम्पनी सएएमए सीजीएमद्वारा सञ्चालित एउटा कन्टेनर जहाजले बुधबार जलमार्ग पार गर्ने क्रममा आफू आक्रमणमा परेको जनाएको थियो ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठनका अनुसार युद्ध सुरु भएयता कम्तीमा १० समुन्द्री कामदार मारिएका छन् ।

इरानको मर्चेन्ट मरीन युनियनले अप्रिल १ सम्म कम्तीमा ४४ इरानी समुद्री कामदार–जसमा डक कर्मचारी र माछा मार्नेहरू पनि छन्– मारिएको जनाएको छ । ट्रम्पले बुधबार अमेरिकी अधिकारीहरूले तेहरानसँग ‘धेरै राम्रो वार्ता’ गरेको र शान्ति सम्झौता ‘सम्भव’ रहेको बताए । तर दुवै पक्ष सम्झौतामा कति नजिक पुगेका छन् भन्ने अझै स्पष्ट छैन । शत्रुतामा आएको छोटो विरामका बेला केही जहाज होर्मुजबाट बाहिरिन सफल भए पनि प्रत्येक दिन नयाँ अनिश्चितता थपिएको श्रमिक समूहहरूले बताएका छन् ।

गत महिना इरानी फौजले दुई विदेशी झण्डावाला मालवाहक जहाज र तिनका चालकदललाई नियन्त्रणमा लिएको थियो । त्यस्तै अमेरिकी नौसेनाले खाडी र हिन्द महासागरमा इरानसँग सम्बन्धित तीन व्यावसायिक जहाज कब्जामा लिएको थियो । समुन्द्रमा फस्नुका साथै पक्राउ पर्ने डरले ‘अत्यधिक भयको अवस्था’ सिर्जना गरेको अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ का महासचिव स्टेफन कटनले बताए । ‘वर्षको सुरुदेखि नै सैन्य बलहरूले १७औं शताब्दीको जस्तो शैलीमा जहाज चढेर नियन्त्रण गरिरहेका छन्, जुन निकै डर लाग्दो छ’, उनले भने, ‘यी त सामान्य कामदार मात्रै हुन् ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.