हत्याका दोषी : झुटो पहिचानले उम्किए, अहिले पक्राउ
विराटनगर : मोरङको बेलबारीमा दुई दशकभन्दा लामो समयदेखि कानुनी दायराबाट बाहिर रहेका हत्याका दोषी अन्ततः पक्राउ परेका छन् ।
बेलबारी नगरपालिका–६ का ५५ वर्षीय कमलप्रसाद दाहाललाई २२ वर्षपछि पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
दाहाल कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति हुन् । तर, सजाय भुक्तान नगरी लामो समय फरार रहेका थिए । यसअघि पक्राउ पनि परेका थिए । तर, झुटो पहिचानले उम्किन सफल भए । पछिल्लो पटक उनी आफ्नै घरबाट पक्राउ परेका हुन् ।
यो घटना २०६० सालतिरको पुरानो हत्याकाण्डसँग सम्बन्धित छ । काशीराम खवासले दिएको किटानी जाहेरीका आधारमा दाहालसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो । जिल्ला अदालत मोरङले २०६१ साल जेठ १० गते दाहाललाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो । तर, हालसम्म सजाय भुक्तान गरेका थिएनन् । लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए ।
कागजमा उनी खोजीको सूचीमा देखिए पनि व्यवहारिक रूपमा उनी आफ्नै घरमा सामान्य जीवन बिताइरहेको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनी वर्षौंसम्म आफ्नो पहिचान लुकाउँदै सामान्य नागरिकझैं बसिरहेका थिए । एसपी कटवालका अनुसार दाहाललाई पक्राउ गर्ने प्रक्रिया सहज भने थिएन । यसअघि २०८१ सालतिर उनलाई पक्राउ गरिएको थियो । तर, त्यतिबेला उनले झुटो परिचय र कागजात पेस गरेर प्रहरीलाई भ्रममा पार्न सफल भएको पाइएको एसपी कटवालको भनाइ छ ।
ठेगाना, बाबुको नाम र अन्य व्यक्तिगत विवरण नै फरक दिएकाले वास्तविक पहिचान पुष्टि हुन नसकेको कारण दाहाललाई त्यतिबेला प्रहरीले छाडेको थियो । त्यसपछि उनी फेरि सामान्य जीवनमा फर्किएर घरमै बसिरहेका थिए । अहिले भने विभिन्न स्रोतबाट प्राप्त सूचनाहरू, पुराना मुद्दाका कागजात र विवरणहरूको विश्लेषणपछि मात्र प्रहरी उनको वास्तविक पहिचानमा पूर्ण रूपमा विश्वस्त भएको हो ।
बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको प्रहरी टोलीले अन्ततः उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई कानुनी प्रक्रिया पूरा गर्दै अदालतमा पेस गरिएको थियो । जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार दाहाललाई सजाय कार्यान्वयनका लागि वैशाख २५ गते कारागार चलान गरिएको छ । अदालतले यसअघि नै उनलाई पाँच वर्ष कैद सजाय सुनाइसकेको भए पनि फरार रहँदा त्यो सजाय कार्यान्वयन हुन सकेको थिएन ।
अब उनी सजाय भुक्तानका लागि २०८८ साल वैशाख २३ गतेसम्म कारागारमा बस्नुपर्ने हुन्छ । प्रहरीका अनुसार यस घटनामा दाहालबाहेक अन्य ४ जना संलग्न रहेको भनिएको छ । सबै फरार रहेको र खोजी जारी राखिएको प्रहरीले जनाएको छ । हत्याका एक मात्र प्रतिवादी पक्राउ परे पनि बाँकी अझै कानुनी दायरा बाहिरै छन् ।
एसपी कटवालका अनुसार दाहालाई पक्राउ गर्ने क्रममाय यस पटक प्रहरीले निकै सावधानीपूर्वक काम गरेको थियो । उनले भने, ‘यसअघि उनी झुटो विवरण दिएर छुट्न सफल भएका थिए । तर, यस पटक हामीले सबै प्रमाणहरू पुनः पुष्टि गरेर मात्र पक्राउ गरेका हौं । सबै कुरा मेल खाएपछि मात्र उनलाई नियन्त्रणमा लिइएको हो ।’
प्रहरीका अनुसार दाहालले आफ्नो ठेगाना र पारिवारिक विवरण समेत फरक प्रस्तुत गरेर पहिलो पटक पक्राउ हुँदा दोषी ठहरिएको मुद्दासँग प्रत्यक्ष जोडिएको व्यक्ति हो वा होइन भन्ने अन्योल सिर्जना गरिदिएका थिए । यही कारण उनी त्यतिबेला कानुनी रूपमा बाहिरिन सफल भएका थिए । तर, पछिल्लो समय प्रहरीलाई विभिन्न स्रोतबाट ठोस प्रमाण प्राप्त भएपछि उनको पहिचान पुनः पुष्टि भएको हो ।
दुई दशकभन्दा बढी समयसम्म फरार रहँदै कानुनी कारबाहीबाट उम्किन सफल भएका व्यक्ति अन्ततः पक्राउ परेपछि प्रहरीले यसलाई ठूलो उपलब्धिका रूपमा लिएको छ । एसपी कटवाल भन्छन्, ‘यो घटनाले अपराध गरेपछि लुकेर बस्ने प्रवृत्तिलाई अन्ततः कानुनले छोड्दैन भन्ने सन्देश दिएको छ । जति समयसम्म लुकेर बसे पनि अन्ततः कारबाही भोग्नैपर्छ भन्ने प्रमाणित भएको छ । २२ वर्ष लामो फरार यात्रा समाप्त गर्दै कमलप्रसाद दाहाल अन्ततः कारागार पुगेका छन् ।’
प्रतिक्रिया दिनुहोस !