स्लाइन उत्पादन र आपूर्तिमा संकट

स्लाइन उत्पादन र आपूर्तिमा संकट

विराटनगर : जीवनरक्षक तथा अत्यावश्यक औषधिको रूपमा प्रयोग हुने सेलाइन (स्लाइन) उत्पादन र आपूर्तिमा गम्भीर संकट देखिन थालेको छ । 
उत्पादन लागत लगातार बढिरहँदा पनि १८ वर्ष पुरानो मूल्य संरचना यथावत् रहँदा स्वदेशी उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका छन् । देशभर आपूर्ति शृंखला नै प्रभावित हुन सक्ने चेतावनी उद्योगीहरूले दिएका छन् ।

सेलाइन आयातकर्ता तथा उत्पादकहरूले केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई ज्ञापनपत्र बुझाउँदै तत्काल मूल्य समायोजन नगरे देशभर सेलाइनको अभाव चुलिएर गम्भीर अवस्था आउन सक्ने चेतावनी दिएका हुन् । उनीहरूका अनुसार हालको बजार मूल्य र वास्तविक उत्पादन लागतबीचको अन्तर अस्वाभाविक रूपमा फराकिलो भइसकेको छ । जसले उद्योग सञ्चालन नै असम्भव बनाउँदै लगेको छ ।

सरकारले २०६४ साल असोज १० गते मन्त्रिस्तरीय निर्णयमार्फत औषधिहरूको अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण गरेको थियो । सोही सूचीमा प्लास्टिक बोतलमा आउने सेलाइन पनि समावेश गरिएको थियो । तर, त्यसयता लामो समयसम्म मूल्य पुनरावलोकन नहुँदा कच्चा पदार्थ, प्याकेजिङ सामग्री तथा ढुवानी खर्चमा भएको वृद्धिले उद्योगहरूलाई आर्थिक दबाबमा पारेको छ । 

उद्योगीहरूले बुझाएको ज्ञापनपत्रमा कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमै दोब्बरभन्दा बढी बढिसकेको उल्लेख छ । विशेष गरी प्लास्टिक दाना (एलडीपी) लगायतका प्रमुख कच्चा पदार्थको मूल्य वृद्धि अत्यधिक भएको कारण उत्पादन लागत अस्वाभाविक रूपमा बढेको उनीहरूको दाबी छ । तर, बजारमा भने पुरानै मूल्य कायम रहेकाले उत्पादन बेच्दा नै घाटा हुने अवस्था सिर्जना भएको उनीहरू बताउँछन् । 

हाल नेपालमा तीन वटा स्वदेशी उद्योगले सेलाइन उत्पादन गरिरहेका छन् भने पाँच वटा विदेशी कम्पनीका उत्पादन आयात गरी बजारमा बिक्री वितरण भइरहेको छ । तर, अहिलेको आपूर्ति अवस्थाले करिब एक महिनाको मात्र मौज्दात बाँकी रहेको उद्योगीहरूको भनाइ छ । आपूर्ति शृंखला निकै कमजोर बन्दै गएको बताउँदै मोरङस्थित एलेक्सा लाइफ साइन्सेसका निर्देशक दिनेश ठाकुरले निकट भविष्यमा अभावको अवस्था आउन सक्ने सम्भावना उच्च रहेको उल्लेख गरे ।  

ठाकुरका अनुसार अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूले पनि पुरानै दरमा कच्चा पदार्थ उपलब्ध गराउन नसक्ने स्पष्ट गरिसकेका छन् । नयाँ दरअनुसार कच्चा पदार्थ खरिद गर्दा उत्पादन लागत नै बजार मूल्यभन्दा अत्यधिक बढी पर्ने उनले बताए । यस्तो अवस्थामा उद्योगलाई निरन्तर घाटामा चलाउनु पर्ने वा पूर्ण रूपमा बन्द गर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ छ ।

उद्योगीहरूको मुख्य गुनासो नेपालमा औषधि मूल्य समायोजन गर्ने कुनै स्वतन्त्र र नियमित संयन्त्र नहुनु हो । अन्य देशहरूमा औषधिको मूल्य बजार परिस्थिति अनुसार हरेक वर्ष पुनरावलोकन हुने व्यवस्था रहेको उल्लेख गर्दै उनीहरूले नेपालमा करिब दुई दशक पुरानो मूल्य संरचना अझै लागू रहनु गम्भीर नीतिगत असन्तुलन भएको बताएका छन् । 

ज्ञापनपत्रमा छिमेकी मुलुकहरूको तुलनात्मक मूल्य सूची, कच्चा पदार्थको हालको अन्तर्राष्ट्रिय मूल्य अवस्था तथा विगतको मूल्य परिवर्तनसम्बन्धी विवरण समेत समावेश गरिएको छ । उद्योगीहरूले यदि तत्काल मूल्य समायोजन नगरेमा स्वदेशी उत्पादन बन्द हुने मात्र नभएर बजारमा अभाव सिर्जना हुने खतरा समेत बढ्ने बताए । 

सेलाइनको आपूर्ति प्रभावित भएमा आकस्मिक उपचार, शल्यक्रिया तथा गम्भीर अवस्थाका बिरामीहरूको जीवन नै जोखिममा पर्ने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् । सेलाइन अस्पतालमा सबैभन्दा आधारभूत र अत्यावश्यक औषधि भएकाले यसको अभावले सम्पूर्ण स्वास्थ्य प्रणालीमा दबाब सिर्जना गर्न सक्ने उनीहरूको भनाइ छ । 

उद्योगीहरूका अनुसार अहिलेको मूल्य संरचना उद्योगका लागि मात्र नभएर उपभोक्ताका लागि पनि प्रतिकूल बन्दै गएको छ । उनीहरूले औषधिको मूल्य प्रणाली वैज्ञानिक र समयसापेक्ष नहुँदा एकातिर बिरामीहरू महँगो औषधि किन्न बाध्य छन् भने अर्कोतर्फ उद्योगहरू घाटामा डुबिरहेका छन् भन्ने तर्क अघि सारेका छन् । 

यसैबीच, उद्योगीहरूले अर्को गम्भीर विषय पनि उठाएका छन् । उनीहरूका अनुसार केही औषधिहरूको एमआरपी अत्यधिक उच्च राखिएका कारण सरकारी स्वास्थ्य बीमा प्रणालीमार्फत अनावश्यक रूपमा बढी भुक्तानी भइरहेको छ । उदाहरणका रूपमा ८ रुपैयाँ एमआरपी रहेको प्यान्टोप्राजोल ४० मिलिग्राम ट्याब्लेटलाई टेन्डरमार्फत करिब २ रुपैयाँमा खरिद गरिए पनि बीमा प्रणालीले पुरानै ८ रुपैयाँको आधारमा भुक्तानी गरिरहेको उनीहरूको भनाइ छ । यस्तो मूल्य समायोजन वैज्ञानिक ढंगले गरिएमा राज्यलाई ठूलो आर्थिक बचत हुने र नागरिकलाई समेत राहत मिल्ने उद्योगीहरूको दाबी छ।

उद्योगीहरूले सरकारलाई बुझाएको ज्ञापनपत्रमा सेलाइन मात्र नभई अन्य धेरै औषधिहरूको मूल्य संरचना पनि समयानुकूल नभएको उल्लेख गरिएको छ । पुरानो मूल्य प्रणालीका कारण बजारमा विकृति बढ्दै गएको र स्वास्थ्य क्षेत्रमा असन्तुलन देखिन थालेको उनीहरूको निष्कर्ष छ । सरकारले तत्काल हस्तक्षेप नगरेमा उद्योगहरू बन्द हुने, आपूर्ति प्रणाली भत्किने र अन्ततः बिरामीहरू नै सबैभन्दा ठूलो मारमा पर्ने जोखिम रहेको चेतावनी उद्योगीहरूले दिएका छन् । उनीहरूले सरकारसँग यथार्थ लागतअनुसार मूल्य पुनः निर्धारण गर्दै नियमित मूल्य समायोजन गर्ने स्थायी संयन्त्र स्थापना गर्न आग्रह गरेका छन् । 

सेलाइन जस्तो जीवनरक्षक औषधिको आपूर्ति संकट गहिरिँदै जाँदा स्वास्थ्य प्रणालीमै असर पर्ने सरोकारवालाहरु बताउँछन् । नीतिगत सुधार नगरेमा स्वास्थ्य सेवा नै प्रभावित हुने अवस्था आउन सक्ने भएकाले यस विषयलाई तत्काल गम्भीरतापूर्वक लिनुपर्ने उनीहरुको भनाइ छ । 
मोरङको बूढीगंगामा सञ्चालित एलेक्सा लाइफ साइन्सेस नामक सेलाइन उद्योग ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.