भारतीय सेना प्रमुखको चेतावनी : पाकिस्तान भूगोलमा रहने कि इतिहासमा मात्रै सोच्नु पर्छ
भारत : भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीले पाकिस्तानलाई खुला रुपमा कडा चेतावनी दिएका छन् । उनले यदि पाकिस्तानले आतंकवादलाई समर्थन गर्न नछोडे र भारतविरुद्ध आतंकवादी गतिविधि बढाइरहे, भारतले कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले पाकिस्तानलाई ‘भूगोलमा रहन चाहन्छ कि इतिहासमा सीमित हुन चाहन्छ’ भन्नेबारे सोच्नु पर्ने बताएका छन् ।
‘सेना संवाद’ कार्यक्रममा बोल्दै द्विवेदीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले ‘अपरेशन सिन्दूर’ जस्तो अवस्था फेरि दोहोरिए भारतले आफ्नो सुरक्षा र सार्वभौमिकतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले यदि पाकिस्तानले निरन्तर आतंकवादलाई आश्रय दिइरह्यो र भारतविरुद्ध षड्यन्त्र जारी राख्यो भने त्यसको कडा जवाफ दिने समेत बताएका छन् ।
जनरल द्विवेदीले भारतीय सेनाले युवाहरूको सहयोग चाहेको पनि बताए । उनले अपरेशन सिन्दूरका बेला सिभिल डिफेन्स अभियानमा एनसीसीले खेलेको भूमिकाको प्रशंसा गरे । उनले अहिलेको युद्ध केवल जमीन, आकाश वा समुद्रमा सीमित नरहेको भन्दै साइबर र अन्तरिक्ष क्षेत्रमा समेत युद्धको जोखिम बढेको उल्लेख गरे । त्यसैले हरेक भारतीय नागरिक तयार रहनुपर्ने उनको भनाइ थियो ।
उनले भारतीय सेना नयाँ प्रविधि र डाटा आधारित युद्ध क्षमतामा केन्द्रित भइरहेको जानकारी पनि दिए । यसअघि पनि भारतले पाकिस्तानलाई पटक–पटक चेतावनी दिँदै आएको छ । गत वर्ष अपरेशन सिन्दूरपछि भारतीय पक्षबाट कडा अभिव्यक्ति सार्वजनिक हुँदै आएका छन् । रक्षा मन्त्री राजनाथ सिंहले समेत पाकिस्तानलाई ‘भूगोलबाट मेटाइ दिन सकिने’ चेतावनी दिएका थिए, जसलाई लिएर पाकिस्तानमा ठूलो प्रतिक्रिया आएको थियो ।
प्रतिक्रिया दिनुहोस !