मोरङमा हुलाकले घरमै पुर्याउन थाल्यो राहदानी, सेवाग्राहीले धाउनुपर्दैन प्रशासन
विराटनगर : मोरङमा राहदानी (पासपोर्ट) लिन जिल्ला वा इलाका प्रशासन कार्यालयमा बारम्बार धाउनुपर्ने बाध्यताबाट सेवाग्राहीले राहत पाउन थालेका छन्। हुलाकले घरमै राहदानी पुर्याउन थालेपछि प्रशासन धाउनुपर्ने सेवाग्राहीको बाध्यता अन्त्य भएको हो।
सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने उद्देश्यसहित सरकारले सुरु गरेको ‘घरमै राहदानी’ सेवा मोरङमा पनि कार्यान्वयनमा आएको छ। बुधबारदेखि हुलाकमार्फत सेवाग्राहीकै घरमा राहदानी पुर्याउने व्यवस्था सुरु गरिएको हो।
यो सेवा हुलाक निर्देशनालय विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा सञ्चालनमा ल्याइएको हो। राहदानी बनेपछि त्यसलाई लिन फेरि प्रशासन कार्यालय पुग्नुपर्ने, लामो लाइनमा बस्नुपर्ने, समय खर्चिनुपर्ने र यातायात खर्च बेहोर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले हुलाकमार्फत वितरण प्रणाली लागू गरिएको निर्देशनालयले जनाएको छ।
हुलाक निर्देशनालय विराटनगरका निमित्त प्रमुख विष्णुबहादुर बुढाथोकीका अनुसार राहदानीका लागि जिल्ला प्रशासन कार्यालय पुग्ने सेवाग्राहीलाई आवश्यक सहजीकरण गर्न प्रशासन कार्यालयमै हुलाकका कर्मचारी खटाइएको छ। यसका लागि हलकारा निराजन निरौलालाई जिल्ला प्रशासन कार्यालयमा जिम्मेवारी दिइएको उनले बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा पुगेर राहदानी आवेदन प्रक्रिया पूरा गरेका सेवाग्राहीलाई राहदानी आफैं आएर बुझ्ने वा हुलाकमार्फत घरमै प्राप्त गर्ने भन्ने विकल्प दिइएको छ।
घरमै राहदानी लिन चाहने सेवाग्राहीले आफ्नो पूरा ठेगाना, मोबाइल नम्बर र सम्पर्क विवरण स्पष्ट उल्लेख गरिएको खाममा ५५ रुपैयाँ बराबरको हुलाक टिकट टाँसेर हुलाकका कर्मचारीलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ। सेवाग्राहीले बुझाएको सोही खाममा पछि बनेर आएको राहदानी सुरक्षित राखेर सम्बन्धित व्यक्तिको घरमै पुर्याइने बुढाथोकीले बताए। उनका अनुसार राहदानी तयार भएपछि जिल्ला प्रशासन कार्यालयले त्यसलाई ‘एक्टिभ’ गरेर हुलाक कार्यालयलाई उपलब्ध गराउनेछ। त्यसपछि हुलाकका कर्मचारीले सम्बन्धित सेवाग्राहीको ठेगानामा पुगेर राहदानी जिम्मा लगाउने व्यवस्था मिलाइएको हो।
हुलाक निर्देशनालय निमित्त प्रमुख बुढाथोकीका अनुसार निर्देशनालयसहित विभिन्न हुलाक कार्यालयमार्फत राहदानी वितरणको काम सुरु भइसकेको छ। सेवा सुरु भएको पहिलो दिन बुधबार मात्रै मोरङमा हुलाकमार्फत वितरणका लागि १९ वटा राहदानी प्राप्त भएको निर्देशनालयले जनाएको छ। तीमध्ये केही राहदानी सम्बन्धित व्यक्तिलाई वितरण भइसकेका छन् भने बाँकी वितरण प्रक्रियामा रहेका छन्। ‘हुलाकले राहदानी प्राप्त गरेपछि बढीमा सात दिनभित्र सेवाग्राहीको घरसम्म पुर्याउने लक्ष्य राखिएको छ,’ बुढाथोकीले भने, ‘यसले नागरिकलाई सरकारी सेवामा सहज पहुँच दिलाएको छ।’
प्रतिक्रिया दिनुहोस !