सुस्ताको तटबन्धनमा भारतीय अवरोध, काम रोकियो

सुस्ताको तटबन्धनमा भारतीय अवरोध, काम रोकियो
नारायणी नदीमा भइरहेको तटबन्धन कार्य । तस्बिर : हरि शर्मा
सुन्नुहोस्

प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछिको केही समयमा यो अवरोध भएको स्थानीयको भनाइ छ।

परासी : नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध सिर्जना गर्दै हस्तक्षेप गरेको छ। नारायणी नदीको कटान र डुबान नियन्त्रणका लागि सुस्ता क्षेत्रमा भइरहेको तटबन्धन कार्यमा आइतबारदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हस्तक्षेप गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछिको केही समयमा यो अवरोध भएको स्थानीयको भनाइ छ। यसलाई संयोग मात्र भन्न नसकिने भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय पक्षलाई थप बल मिलेको र सुस्तामा पुनः भारतीय पक्षको हस्तक्षेप बढ्न थालेको स्थानीयको बुझाइ छ।

सुस्ता क्षेत्रलाई नदी कटान र डुबानबाट जोगाउन गत चैतदेखि नारायणी नदी किनारको एक किलोमिटर क्षेत्रमा तटबन्धन निर्माण कार्य भइरहेको छ। तर, उक्त संरचनाले मात्र सुस्ता क्षेत्रलाई जोगाउन नसक्ने भएपछि अहिले निर्माण भएको अन्तिम ठाउँदेखि पूर्वतर्फ दोस्रो चरणको थप १३२ मिटर क्षेत्रमा तटबन्धन कार्य सुरु गरिएको थियो। यही विस्तारको कामलाई भारतीय पक्षले विवादित भन्दै अवरोध गरेको हो।

नारायणी नदीपारि सुस्ता गाउँपालिका–५ स्थित सुस्ता गाउँमा करिब ४ सय घरपरिवारको बसोबास छ। गाउँलाई नदीको जोखिमबाट जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनले साढे ११ करोडको लागतमा तटबन्धन कार्य गरिरहेको छ। दोस्रो चरणअन्तर्गत थप १ करोड ४६ लाखको लागतमा निर्माण सुरु गरिएको १३२ मिटर तटबन्धनको काम भारतीय अवरोधका कारण रोकिएको आयोजनाका इन्जिनियर बेलप्रसाद विश्वकर्माले जानकारी दिए।

सुस्तामा सीमा छुट्टाउनका लागि स्थायी पिलर नभएकाले भारत र नेपालका जिल्लास्तरीय सुरक्षा अधिकारीहरूको सहमतिमा ‘सिमल’को रुखलाई अस्थायी सीमा संकेतका रूपमा मान्दै आइएको छ। अहिले दोस्रो चरणको तटबन्धन निर्माण उक्त रुखभन्दा झन्डै डेढ सय मिटर वरसम्म पुग्ने भए पनि भारतीय पक्षले विवादित भनेर अवरोध गरेका हुन्।

पटकपटक भारतीय पक्षले सुस्तामा हस्तक्षेप गर्दै आएको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए। पछिल्लो समय हस्तक्षेप रोकिए पनि आइतबारदेखि कामलाई अवरोध गरेको उनले बताए। नेपालीले उपयोग गर्दै आएको जग्गा काटेर ड्याम बनाइएको र त्यहीबाट तटबन्धन गर्ने कार्य गर्दा पनि भारतीयले अवरोध गरेको जयसवालको भनाइ छ। दोस्रो चरणको काम सुरु नभए सुस्ता क्षेत्रको डुबान समस्या यथावत् रहने उनले बताए। अहिले सिमलको रुखनजिक भारतीय एसएसबीले २४ सै घण्टा निगरानी गरिरहेको छ। दुई–चार दिनमा भारतले अवरोध नहटाए स्थानीय स्वयंले तटबन्धन निर्माण कार्य अघि बढाउने जयसवालले चेतावनी दिए।

यता प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पुरानो तटबन्धन कार्यमा अवरोध नगरे पनि अहिले दोस्रो चरणको काम भारतीय पक्षका कारण केही समयका लागि रोकिएको बताए। रोकेको कामलाई सुरु गराउनका लागि भारत विहार प्रदेश पश्चिम चम्पारनका समकक्षी डीएम(सीडीओ)सँग कुराकानी भइरहेको प्रमुख जिल्ला अधिकारी नेपालको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.