दोस्रो लाङटाङ ट्रेल रनको प्रथम पुरस्कार मिलन र अञ्जलीलाई
रसुवा : रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार सम्पन्न दोस्रो लाङटाङ ट्रेल रनमा पुरुषतर्फ सोलुखुम्बुका मिलन र महिलातर्फ काठमाडौंकी अञ्जली प्रथम भएका छन्।
‘दोस्रो लाङटाङ ट्रेल रन’ अन्तर्गत लाङटाङको क्याङजिनबाट सुरु भएको ३२ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा २ घण्टा १६ मिनेट ४३ सेकेन्ड दूरी पूरा गरी सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ का मिलन कुलुङ राई प्रथम भएका छन्।
२ घण्टा १८ मिनेट ४७ सेकेन्ड दूरी पूरा गरी जुम्ला जिल्ला कनसुन्दरी गाउँपालिका–१ का धीरबहादुर बुढा दोस्रो भएका छन्। तेस्रो हुनेमा पाँचथर जिल्ला फिदिम नगरपालिका–१४ का विसाल राईले उक्त दूरी २ घण्टा २० मिनेट २ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
गोसाइँकुण्ड गाउँपालिका-४, लाङटाङस्थित क्यान्जिङ उपत्यकाबाट सुरु भएर स्याफ्रुबेसीमा अन्त भएको ट्रेलमा महिलातर्फ ४ घण्टा ४५ मिनेट ३ सेकेन्डमा काठमाडौं दक्षिणकाली नगरपालिका–९ की अञ्जली गुरुङ प्रथम भएकी छन्। नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–७ की सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भएकी छन्।
अष्ट्रियाकी अन्ना लेनाले ५ घण्टा ९ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरेकी छन्। ट्रेल रनमा विजेता धावकहरू महिला तथा पुरुष दुवैतर्फ क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेले १ लाख, ७५ हजार र ५० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्न सफल भएका छन्।
चौथो र पाँचौं हुने खेलाडीलाई दुवैतर्फ सान्त्वना स्वरूप क्रमशः नगद २५ हजार र १५ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !