बहुअपांगता बालकमाथि बाबुको क्रुर हिंसा

बहुअपांगता बालकमाथि बाबुको क्रुर हिंसा
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिका–१४ हंसबाहिनी टोलस्थित सुकुम्बासी बस्तीमा बहुअपांगता भएका एक सात वर्षीय बालकलाई आफ्नै बाबुले लामो समयदेखि अमानवीय व्यवहार र शारीरिक हिंसा गर्दै आएको घटना सार्वजनिक भएको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले आरोपित बाबुलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । पीडित बालकलाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको छ । अस्पतालका अनुसार बालकको आकस्मिक कक्षमा प्रारम्भिक उपचारपछि उनलाई पोषण अभाव देखिएकाले न्यूट्रिसन विभागमा राखेर थप उपचार अघि बढाइएको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार ४० वर्षीय दिनेश रामले जन्मजात बहुअपांगता भएका आफ्ना छोरामाथि निरन्तर कुटपिट तथा यातना दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार बालकलाई पटक–पटक शारीरिक रूपमा आक्रमण गरिएको, शरीरमा चोटपटक देखिएको र दाँतले टोकेको घाउ समेत रहेको छ । 

स्थानीयले दिएको जानकारीअनुसार दिनेश राम लागुऔषध सेवनको कुलतमा फसेका व्यक्ति हुन् । उनी दिनभर ज्याला मजदुरी गरेर घर फर्किएपछि बालकमाथि कुटपिट गर्ने, दाँतले टोक्ने र विभिन्न प्रकारका हिंसात्मक व्यवहार गर्ने गरेको आरोप स्थानीयले लगाएका छन् । बालकको शरीरका विभिन्न भागमा देखिएको चोटले पनि उनीमाथि आफ्नै बाबुले क्रुर हिंसा गरिरहेको प्रष्ट हुने डीएसपी मिश्रको भनाइ छ । 

बालककी हजुरआमा देवी रामले नातिमाथि नियमित रूपमा हिंसा हुने गरेको बताएकी छन् । उनका अनुसार बालककी आमा केही वर्षअघि अर्कै व्यक्तिसँग विवाह गरेर गइसकेपछि बालकको हेरचाह बाबुले गर्दै आएका थिए । तर, संरक्षककै रूपमा रहेका बाबुले नै निरन्तर यातना दिने र क्रुर हिंसा गर्ने गरेको उनले बताइन् । ‘नातीलाई दिनहुँजसो कुट्छ । टोकेर घाइते बनाउँछ,’ हजुरआमा देवीले भनिन् ।

घटनापछि इन्सेक कोशी प्रदेश कार्यालय र राष्ट्रिय अपांग महासंघ कोशी प्रदेशको पहलमा इलाका प्रहरी कार्यालय रानीमा शुक्रबार उजुरी दर्ता गरिएको थियो । उजुरीपछि प्रहरीले तत्काल आरोपी दिनेश रामलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो । घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले बालकको स्वास्थ्य अवस्था र पारिवारिक पृष्ठभूमिका पनि अध्ययन अघि बढाइएको जानकारी दिएको छ । 

बालअधिकारकर्मीहरूले यस्ता घटनाले बहुअपांगता भएका बालबालिका अझै पनि घरभित्रै असुरक्षित रहेको देखाएको भन्दै राज्यका निकायहरू अझ संवेदनशील हुनुपर्ने बताएका छन् । उनीहरूले यस्ता बालबालिकाको नियमित निगरानी, संरक्षण र आवश्यक सहयोग सुनिश्चित गर्न स्थानीय तहदेखि सरोकारवाला निकाय सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.