ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ बस्ने रामेछापको लिखु तामाकोशी गाउँपालिका-१ घर भएकी ३१ वर्षीया लक्ष्मी थापा कार्की र काठमाडौं बूढानीलकण्ठ नगरपालिका-८ बस्ने ३५ वर्षीया प्रिया बानिया रहेका छन्।
पक्राउ मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५० हजार रुपैयाँ र प्रियाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लक्ष्मीलाई काठमाडौं महानगरपालिका-३ बाट र प्रियालाई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-८ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !